काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर २९ गते ए डिभिजनका क्लबलाई पत्र लेख्दै सहिद स्मारक ए डिभिजन लिग खेल्न टिम दर्ताका लागि आह्वान गर्यो । र भन्यो, 'टिम दर्ता गर तयारी खर्च लैजाउ'
तयारी खर्च नपाएको भन्दै लिग खेल्न नसकिने बताउँदै आएका क्लबलाई टिम दर्ता गर्न र पहिलो किस्ता बापतको १५ लाख रुपैयाँ लैजान एन्फाको आह्वान थियो । एन्फाले पुस १ गतेदेखि ७ गतेसम्म टिम दर्ताको समय राखेको थियो ।
तर पुस ७ गते बिहीबार अधिकांश क्लबले एन्फामा टिम दर्ता गराएनन् ।
तयारी खर्च नपाउने भएपछि अधिकांश क्लबले एन्फामा टिम दर्ता नगराएका हुन् । एन्फाले पुस २८ गतेबाट ए डिभिजन लिग सञ्चालन गर्ने तयारी गरेको छ । पुस ७ गतेसम्म टिम दर्ता गर्न र तयारी खर्च लैजान एन्फाले पत्र लेख्दै आह्वान गरेको थियो ।
एन्फाले लिग सञ्चालनको सन्दर्भमा बिहीबार क्लबसँग छलफल राखेको थियो । बैठकमा अधिकांश क्लबले आफु टिम दर्ता गर्न तयार रहेको तर अर्को हातमा तयारी खर्च दिनुपर्ने बताएका थिए । तयारी खर्च दिने शर्तमा एन्फा तयार भएन ।
एन्फाका पदाधिकारीले तयारी वापत कबुल गरेको रकम दिन नसक्ने आशय ब्यक्त गरेका थिए । त्यसपछि लिग सञ्चालनको सन्दर्भमा बोलाईएको बैठक बिना निष्कर्श टुङ्गगिएको छ ।
‘लिग गर्ने भनेको छ, तयारी केही देखिदैन । लिगकै मुख्य प्रायोजक टुङ्गो छैन । स्रोतको ब्यवस्थापन छैन । लिग सञ्चालनको कार्यविधि छैन । लिग गर्न एन्फाको कुनै तयारी देखिदैन । क्लबलाई दोषी देखाएर एन्फा लिग नगर्ने मनसायमा देखिन्छ ।’ क्लबका एक प्रतिनिधिले खेलपाटीसँग भने ।
बैठक अर्को बिहीबार बस्ने गरि टुङ्गिएको छ । दुवै पक्ष (एन्फा र क्लब)ले लिगको ड्राफ्ट तयार गर्ने र छलफल गरेर निर्णयमा पुग्ने गरि बिहीबारको बैठक सकाएका छन् ।
एन्फाले क्लबलाई दिने लिगको तयारी खर्च जुटाउन नसकेपछि छलफल टुङ्गोमा नपुगेको हो ।
खासमा एन्फा र क्लब एक अर्कालाई दोषी देखाएर लिग नगर्न चाहन्छन् । लिग खेल्ने र खेलाउने दुवै पक्षले आर्थिक स्रोतको ब्यवस्थापनलाई कठिन मानिरहेका छन् । तर लिग नहुने दोष आफु बोक्न चाहदैनन् ।
क्लबहरुले टिम दर्ता भएपछि लिगको तयारी गर्न कम्तिमा तीन महिना चाहिने माग अघि सारेका छन् । यसले गर्दा पुस २८ गतेदेखि हुने भनिएको लिग सर्ने सम्भावना उच्च देखिन्छ ।