काठमाडौं । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको छ ।
प्रदेशको बिहीबार बसेको बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको हो ।
बैठकले स्वर्ण विजेता खेलाडीलाई जनही १ लाख, रजत विजेता खेलाडीलाई जनही ७५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही ५० हजार रुपैयाँ सहित सम्मान गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेश सरकारले यसअघिनै नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने प्रदेशका खेलाडीलाई जनही मासिक ६ हजार रुपैयाँ भत्ता दिने निर्णय गरिसकेको छ ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले नवौंका पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने उल्लेख गर्दै प्रस्ताव मन्त्री परिषद्मा लैजाने निर्णय भएको बताएका छन् ।
बैठकले चैत २४ गते वृहत प्रदेश खेलकुद आयोजना गर्ने, राष्ट्रपति रनिङशिल्डका लागि १५ दिनअघिनै प्रदेश छनोट सक्ने र स्थानीय र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डलाई सबै विद्यालयको सहभागीतामा सञ्चालन गर्ने निर्णय गरेको छ ।