काठमाडौं । फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण अर्को वर्ष हुने भएको छ । अखिल नेपाल फुटबल संघमा नेतृत्व परिवर्तनसँगै अनिश्चित बनेको प्रतियोगिता अर्को वर्ष हुने पक्का भएको हो ।
एन्फामा आएको नयाँ नेतृत्व र एनएसएल आयोजक संस्था नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालीबीच मंगलबार नयाँ सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार आयोजकले प्रतियोगिता गर्न असोज र कात्तिक गरि दुई महिनाको ‘विन्डो’ समय पाएको छ । घरेलु लिगका कारण यस सिजन समय निकाल्न कठिन हुने भएपछि दोस्रो संस्करणको प्रतियोगिता अर्को वर्षको असोज र कात्तिकमा हुनेछ ।
नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनी प्रालीका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले दोस्रो संस्करणको प्रतियोगिता अर्को असोज र कात्तिक गरि दुई महिना हुने बताए । ए डिभिजन लिगका कारण यस सिजन दोस्रो संस्करणको एनएसएल सम्भव नभएको शर्माले उल्लेख गरे ।
‘लिगका कारण यस सिजन समय छैन । हामीले पाएको समय सेप्टेम्बर–अक्टोबर अर्थात असोज कात्तिक हो । हरेक वर्ष त्यही समयमा एनएसएल हुने सम्झौता छ ।’ उनले भने ।
तत्कालिन एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले गरेको सम्झौता भंग गरेको एन्फाको नयाँ नेतृत्वले एनएसएलसँग ८ वर्षको सम्झौता गरेको हो । यसअघि आफु चार वर्षको मात्र म्यानडेट पाएर नेतृत्वमा आएको भन्दै एन्फाको नयाँ नेतृत्वले त्यो भन्दा बढी समयको सम्झौता गर्न नसक्ने भन्दै एनएसएल आयोजनामा अड्को थाप्दै आएको थियो । एन्फाले प्रतियोगिता आयोजनाका लागि वर्षको दुई करोड रुपैयाँ रोयल्टीको माग एनएसएलसँग गरेको थियो ।
दोस्रो संस्करणको प्रतियोगिता अघिल्लो वर्ष चैतमै हुन पर्ने थियो । तर एन्फा निर्वाचनका कारण एनएसएलको दोस्रो संस्करण निर्धारित समयमा हुन सकेन । एनएसएललाई चुनावी मुद्धा बनाएपछि प्रतियोगिता विवादमा समेत परेको थियो ।
एन्फामा नेतृत्व परिवर्तन भएसँगै सम्झौतालाई रद्ध गर्ने र प्रतियोगिता गर्न नदिने उद्धेश्यका साथ नेतृत्व अघि बढेको थियो । सम्झौता रद्ध गर्ने देखि प्रतियोगिताको मिति समेत नदिने गतिविधि एन्फा नेतृत्वबाट भएको थियो ।
आर्थिक संकटले घरेलु लिगनै चलाउन नसक्ने अवस्थामा पुगेपछि मोटो रकम बुझ्ने गरि एन्फा नेतृत्वले एनएसएलसँग ८ वर्षको नयाँ सम्झौता गरेको छ ।