काठमाडौं । तेक्वान्दोका खेलाडी शेरबहादुर सिंह बचाउन अभियान सुरु गरिएको छ ।
कलेजो प्रत्यारोपणका लागि भारतमा उपचाररत सिंहको जिवन रक्षाका लागि तेक्वान्दो सम्बद्ध खेलाडी तथा संस्थाले शेरबहादुर सिंह बचाउ अभियान सुरु गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशको तेक्वान्दो खेलको माध्यमबाट थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरेर तेक्वान्दो खेलको विकास महत्वपुर्ण योगदान गरेका सिंहको कलेजोमा समस्या आएर भारतमा उपचार गरिरहेका छन् ।
उनको उपचारका लागि झण्डै ९० लाख रुपैयाँ खर्च हुने चिकित्सकले बताएका छन् ।
व्यक्तिगत रुपमा सिंहको उपचार सम्भव नदेखिएपछि तेक्वान्दो र खेल क्षेत्रका विभिन्न व्यक्तित्वले सिंह बचाउ अभियानको सुरुवात गरेका छन् ।
सिंह कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्टका समकालिन हुन् । उनीहरुले राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा संगै सहभागीता जनाएका छन् ।
समकालिन साथीको बचाउ अभियानमा विष्ट आफै अघि सरेर आर्थिक सहयोग उपलब्ध गराएका छन् । विष्ट दम्पतीले सिंहको उपचारका लागि जनही १०-१० हजार आर्थिक सहयोग गरेको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आर्थिक सहयोग जुटाउने अभियानको नेतृत्व समेत गरेको छ ।
सिंहका लागि अमेरिका, क्यानडा सहित विभिन्न देशमा बस्ने तेक्वान्दो परिवारले आर्थिक सहयोग जुटाउन सुरु गरिएको छ ।
खेलाडी विष्टले थोरै रकमले सिंहको उपचार सम्भव नभएकाले अभियाननै सञ्चालन गरेर आर्थिक सहयोग जुटाउने कार्यमा लाग्नु परेका बताएका छन् ।
‘यसलाई अभियानकै रुपमा सञ्चालन गरेर देश विदेशमा रहेका तेक्वान्दो परिवार र खेलकुद सम्बद्ध अधिकारी र संस्थासँग पहल गरिरहेका छौं । तेक्वान्दो खेलको विकासमा महत्वपुर्ण योगदान गरेका सिंहको जिवन रक्षामा सबैले सक्दो सहयोग गर्न अपिल समेत गर्दछु ।’ विष्टले भने ।
‘सहयोग स्वरुप उठेको पैसा सिधै सिंहको खातामा राख्ने व्यवस्था मिलाएका छौं । यसमा सबै खेलकुद सम्बद्ध संस्था र परिवारको सहयोगको खाँचो छ ।’ विष्टले थपे ।