काठमाडौं । गण्डकी पब्लिक बोर्डिङ स्कुल र शुभकामनाले टप्स अन्तरविद्यालय छात्र बास्केबटल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेका छन् । दुवैले दोहोरो जित निकाले ।
मैपीस्थित घरेलु कोर्टमा गण्डकीले इमेजलाई १९–५ र महर्षीलाई १३–१२ तथा शुभकामनाले ल्यान्डमार्कलाई २२–५ र संस्कृतिलाई १७–१४ ले पराजित गरे ।
टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगितामा तेजस्वी र नवोदितले पनि दोहोरो जित आत्मासात् गरे । तेजस्वीले सुप्रिमलाई ८–२ तथा निम्बललाई ९–३ ले हरायो । नवोदितले स्वेता सदनमाथि ३३–२८ तथा संस्कृतिमाथि २१–१० को जित रच्यो ।
अन्य खेलमा ह्वाइट हेभनले लर्निङ जोनलाई २१–१८, लालीगुराँसले लिटिल ब्लोसमलाई ३१–११, महर्षीले इडिफाइलाई १२–६ र बेलमोन्टले निम्बलाई ८–२ ले पाखा लगाए । त्यस्तै लर्निङ जोनले लिटिल ब्लोसमलाई ९–५ र स्वेता सदनले ल्यान्डमार्कलाई २९–१५ ले पन्छाए ।
प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा १६ का अध्यक्ष मुकुन्द रिजालले एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने प्रतियोगितामा १७ टिमको सहभागिता रहेको टप्सका अध्यक्ष आरसी भट्टले जनाएका छन् ।