काठमाडौं । पृथ्वी र बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले १५ औं माछापुच्छ्रे-भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सफलता पाएका छन् ।
भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा पृथ्वीले पारा माउन्टलाई ३०-१९ ले पराजित गर्यो । विजेताका गौतम मगरले २६ अंक जोडे । बीएनएले युनिभर्सिटीलाई ३३-१७ ले हरायो । बीएनएका सन्देश गौतमले २० स्कोर गरे ।
सिनियर ब्वाइजमै आयोजक भ्याली पब्लिकले मिश्रित नतिजा निकाल्यो । टीआईएले आयोजक भ्याली पब्लिक ‘बी’ माथि २८-२६ को कठिन जित दर्ता गर्यो । टीआईको जितमा कृष्ण महर्जनले ९ अंक योगदान गरे । आरोध कार्कीको १२ अंक सहयोगमा भ्याली पब्लिक ‘ए’ ले बीएमसीएलाई ३९-२५ ले पन्छायो । ग्रिनल्यान्डले भद्रकालीलाई ५०-२५ को फराकिलो अन्तरले निराश पार्यो । विजयी टिमका लागि दिवस भुजेल र रोहन श्रेष्ठले समान १५–१५ अंक बटुले ।
जुनियर ब्वाइजमा बीएनएले एनसीसीएसलाई ३२-१७ तथा भ्याली पब्लिकले डाफोडिललाई १६-७ ले पराजित गरे । बीएनएका एलेक्स गुरुङले १२ तथा भ्याली पब्लिकका छिमे तामाङले ७ अंक जोडे ।
सिनियर गर्ल्समा ग्रिनल्यान्डले फेरिल्यान्डलाई २१–१४ तथा पृथ्वीले विस्डमलाई ३६–१० ले हराए । ग्रिनल्यान्डकी जेनिशा श्रेष्ठले १० तथा पृथ्वीकी दावा ल्हामु गुरुङले १४ स्कोर गरे ।