काठमाडौं । आयोजक भ्याली पब्लिकले १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।
भ्याली पब्लिकले सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गर्ल्स तीनै स्पर्धामा जितका साथ यात्रा प्रारम्भ गरेको हो ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३७–१६ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा अनमोल गुरुङ र इश्वर घलेले समान ११–११ अंक योगदान गरे । अशोक विक र छिमे तामाङको समान ५–५ अंक सहयोगमा भ्याली पब्लिकले इबीएलाई १३–८ ले हरायो ।
सिनियर गर्ल्समा भ्याली पब्लिकले केभीकेएसएसलाई २५–११ ले पन्छायो । भ्याली पब्लिककी मुस्कान गुरुङले ११ स्कोर गरिन् ।
माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइजको अन्य खेलमा सैनिकले एलआरआईलाई ४८–२५, एन्जल्स हार्टले केभीकेएसएसलाई २८–२० तथा एचएचसीएले पृथ्वीलाई २८–२५ ले पाखा लगाए । सैनिकका सुबोध चापागाईंले १५, एन्जल्स हार्टका निक्सन गर्बुजाले ९ र एचएचसीएका दिप्सन राईले १५ अंक बटुले ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले संस्कृतिलाई ३८–२८ ले निराश पार्यो । एन्जल्स हार्टका प्रतीक कँडेलले १५ अंक जोडे । सिनियर गर्ल्समा एचएचसीएले जुगलमाथि २६–१२ को जित दर्ता गर्यो । एचएचसीएकी सारा घलेले १४ अंक जोडिन् ।
प्रतियोगिताको राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ, भ्याली पब्लिकका चेयरम्यान पूर्व मेजर लिलबहादुर गुरुङ र भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगितामा सिनियर ब्वाइजमा २५ तथा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान १२–१२ टिम गरी जम्मा ४९ टिम सहभागी छन् ।
लिग कम नकआउट पद्धतिमा भइरहेको प्रतियोगिताको फाइनलमा मंसिर १८ गते हुनेछ ।