काठमाडौं। निम्स र युनिक नेपाल एकेडेमी, भक्तपुरले आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् ।
निम्सले सिनियर ब्वाइज र सिनियर गर्ल्स दुवैको उपाधि रक्षा गर्यो । युनिक जुनियर ब्वाइजमा च्याम्पियन बन्यो ।
स्युचाटारस्थित आयोजक रेडिअन्ट पब्लिक स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा डिफेन्डिङ च्यामिपयन निम्सले जेनिथलाई ४७–३६ ले पराजित गर्यो । निम्सका सरोज सेती मगर र आयुशले समान ११–११ अंक जोडे ।
सिनियर गर्ल्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन निम्सले संस्कृतिलाई २०–११ ले हरायो । निम्सकी टिना लिम्बूले ८ स्कोर गरिन् ।
जुनियर ब्वाइज फाइनलमा युनिकले ग्रिनफिल्डलाई २१–१७ ले पाखा लगायो । युनिकका सजित रिमालले ७ अंक बटुले।
फाइनलका सर्वाधिक स्कोरकर्तात्रय सागर, टिना र सजित आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा विस्डम इङलिस एकेडेमी, सिनियर गर्ल्समा जेसिस इन्टरनेसनल र जुनियर ब्वाइजमा सिर्जना ज्ञान सागर अनुशासित टिम चुनिए ।
विजेतालाई केन्द्रीय प्याब्सनका अध्यक्ष डिके ढुंगाना र उपाध्यक्ष गोपाल आचार्य, आयोजक रेडियन्ट पब्लिकका प्रिन्सिपल सूर्यबहादुर केसी, आयोजक रेडिअन्टका को–ओर्डिनेटर दिलिप कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
कात्तिक २१ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान १२–१२ गरी ४८ टिम सहभागी थिए ।