काठमाडौं । आयोजक रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलले आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज र गर्ल्स दुवैमा सोमबार विजयी सुरुआत गरेको छ ।
स्युचाटारस्थित घरेलु कोर्टमा ब्वाइजतर्फ रेडिअन्टले इडेन ब्रिज एकेडेमीलाई ३७–१६ ले पराजित गर्यो । रेडिअन्टका सुवास गौतमले १४ स्कोर गरे ।
सिनियर ब्वाइजमै पिपुल्सले जुबिलियन्टलाई १४–१३, ग्रिनफिल्डले माउन्ट ग्लोरीलाई ३८–१२ र एचएचसीएले सेन्ट्रललाई ४३–१७ ले हराए । पिपुल्सका विवेक भण्डारीले ७, ग्रिनफिल्डका ससान्त कार्कीले २३ र एचएचसीएका पवन मगरले १८ अंक जोडे ।
सिनियर गर्ल्समा रेडिअन्टले ग्रिनफिल्डलाई २८–४ तथा संस्कृतिले जेसेसलाई २८–८ ले पन्छाए । रेडिअन्टकी प्रशंसा बुढाथोकीले १६ तथा संस्कृतिकी त्रिशा श्रेष्ठले ८ अंक बटुले ।
जुनियर ब्वाइजमा स्किब्सले ग्रिनफिल्डलाई ७–२, युनिकले इडेन ब्रिजलाई २०–१६ तथा महामञ्जुश्रीले राइजिङ स्टारलाई १८–४ ले पाखा लगाए । स्किब्सका समृत थापा मगरले ५, युनिकका सजित रिमालले ७ तथा महामञ्जुश्रीका समिर श्रेष्ठले ८ अंक जोडे ।
प्रतियोगिताको काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगितामा सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२–१२ टिम गरी जम्मा ४८ टिम सहभागी छन् । फाइनल कात्तिक २९ गते हुनेछ ।