काठमाडौं । सिसिआरसी कलेज र ज्ञान निकेतन कलेजले राजधानीमा जारी तेस्रो संस्करणको उपत्यकाव्यापी रोजवड बास्केटबल प्रतियोगिताको पुरुषतर्फ विजयी भएका छन् ।
रोजवड स्कुलको खेल मैदानमा आइतबार भएको खेलमा सिसिआरसीले न्यु समिट कलेजलाई ५८–५२ ले पराजित गरेको हो । सिसिआरसीको जितमा साहिल विष्टले १६ अंकको योगदान दिए । यस्तै ज्ञान निकेतन कलेजले सेन्ट जेभियर स्कुलमाथि ४५–३८ को जित निकाल्यो । ज्ञान निकेतनको जितमा मनिष तामाङले ७ अंकको योगदान दिए ।
आइतबारै भएको ब्वाइजतर्फको अर्काे खेलमा अमित मल्लको ७ अंकको योगदानमा मोर्गान कलेजले एस स्कुलमाथि ५१–३० को फराकिलो जित निकाल्यो ।
गल्सतर्फ मोर्गानले एस स्कुललाई नै ४५–३८ ले पराजित गर्यो । मोर्गानको जितमा प्रजिता कार्कीले १४ अंकको योगदान दिइन् ।
प्रतियोगितामा पुरुषतर्फ १६ स्कुल र महिलातर्फ ५ स्कुलले सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी १६ स्कुललाई ४ समूहमा विभाजन गरिएको छ ।
लिग कम नकआउटको आधारमा हुने प्रतिस्पर्धामा हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ । महिला तर्फ खेल राउन्ड रोविन लिगको आधारमा हुनेछ । प्रतियोगिता १७ मंसिरसम्म सञ्चालन हुनेछ ।
विजेताले ट्रफीसहित आकर्षक पुरस्कार पाउनेछ । प्रतियोगिता सञ्चालन गर्न करिव २ लाख ५० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।