काठमाडौं । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ ।
मालेमा बुधबार राति माल्दिभ्सलाई हराएर श्रीलंकाले उपाधि जितेपछि नेपाल फेरि उपविजेता बनेको हो ।
बुधबार नै भुटानलाई हराएर नेपालले उपाधि होड कायम राखेको थियो ।
तर, श्रीलंकाले माल्दिभ्सलाई ७२-५९ ले हराएर च्याम्पियन बन्यो ।
माल्दिभ्सलाई हराएसँगै शीर्ष स्थानमा रहेर श्रीलंका च्याम्पियन बनेको हो ।
अघिल्लो संस्करण समेत श्रीलंकाले उपाधि जितेको थियो भने नेपाल उपविजेता बनेको थियो ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ५१-४७ ले पराजित भएको थियो । जुन हारले नेपाललाई उपाधिबाट बन्चित गरायो ।
माल्दिभ्ससँग पराजित भएपनि नेपालले मंगलबार श्रीलंकालाई ५५-४९ ले हराएको थियो ।
त्यस्तै तुलनात्मक कमजोर टोली भुटानमाथि नेपालले ६५-२६ को जित निकालेको थियो।
प्रतियोगितामा चार राष्ट्र सहभागी छन् । अब माल्दिभ्स र भुटानबीचको खेल हुन बाँकी रहेको छ ।