काठमाडौं । सर्बियाको बेलग्रेडमा आयोजना भएको आईएसएफ वर्ल्ड स्कुल बास्केटबल च्याम्पियनसिप-२०२२ मा सहभागी भएको नेपाली बास्केटबल टोली प्रिमियर इन्टरनेसनल आईबी कन्टइनियम स्कुलले फेयर प्ले अवार्ड जितेको छ।
प्रिमियर स्कुलका चेयरम्यान बसन्त थापाले च्याम्पियनसिपमा स्कुलका टोलीले फेयर प्ले अवार्ड जितेको जानकारी दिए।
'हाम्रा विद्यार्थीहरूले आफ्ना सबै खेलहरूमा साहसका साथ भाग लिए र प्रतियोगिताबाट फेयर प्ले ट्रफी घर ल्याए । हामी सबै खेलाडीहरू, प्रशिक्षक सदिश प्रधानलाई टोलीको नेतृत्व गर्ने र हाम्रा विद्यार्थीहरूलाई यात्रामा साथ दिने सबै अधिकारीहरूलाई गर्वका साथ बधाई दिन्छौं। हामी पक्का छौं कि यो विश्वव्यापी एक्सपोजरले हाम्रा विद्यार्थीहरूलाई धेरै फाइदा पुर्याएको छ र जीवनभरका लागि सम्झनाहरू सिर्जना गरेको छ', चेयरम्यान थापाले भने।
नेपाली टोलीले अवार्ड जितेकोमा खुशी र हर्षित भएको आईएसएफका कार्य समिति सदस्य र प्राविधिक कमिसनका अध्यक्ष एवं नेपाल स्कुल स्पोर्टस् महासंघका सचिव राजकुमार कार्कीले जानकारी दिए ।
'यो अवार्ड अन्तराष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गत दिईने अवार्ड हो । यो अवार्ड सहभागिता टिमको भोटिङबाट प्राप्त गर्ने अवार्ड हो । राम्रो खेल र अनुशासनलाई मूल्यांकन गरेर दिईने यस अवार्ड नेपाललाई प्रतिनिधित्व गरेको टिमले जितेकोमा खुशी र हर्षित छु,' उनले भने ।
जनार्जन ढुङ्गेलको नेतृत्वमा च्याम्पियनसिपमा सहभागी टोलीको टिम प्रशिक्षकमा सदिश प्रधान रहेका थिए । यस्तै खेलाडीहरुमा सामराज श्रेष्ठ, प्रथम श्रेष्ठ, आशिप महर्जन, शिभम श्रेष्ठ, कोनोर गुरुङ, बेनभ श्रेष्ठ दुवाल, उज्वल धौगोडा, प्रणय बासी, सुजल बलय श्रेष्ठ, सुजार राजकर्णिकार र अविग्न श्रेष्ठ रहेका छन् ।
अफिसियलमा भुपेन्द्र शमसेर कुँवर, मधु ढुङ्गेल र ममता बस्नेत रहेका थिए ।
प्रतियोगिता सेप्टेम्बर २० देखि २८ सम्म भएको थियो ।