काठमाडौं । अल्फाकी लक्ष्मी घर्तिमगर र नक्सालकी शिवानी श्रेष्ठ प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिष बक्सिङ्ग प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको महिला यू-२४ को ५७ केजी तौल समूहमा लक्ष्मीले भक्तपुरकी पुनम कर्माचार्यलाई अंकको आधारमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाईन् । यसै तौल समूहमा शिवानीले बानुजकी विभासा श्रेष्ठलाई ३–२ अंकको आधारमा पराजित गर्दै फाईनलमा लक्ष्मीसंग भेट गर्ने पक्का गरेकी हुन् ।
त्यसैगरी पुरुष यु - २४ अन्तर्गत ४९ केजी तौल समुहमा काठमाण्डौ बक्सिङ्ग क्लबका दिपेश राई र सुनसरीका विशाल राईले फाईनलमा स्थान बनाए ।
पुरुष ५२ केजी तौल समुहमा ललितपुका बुद्ध ग्याम्जो लामा र सेन्ट्रल बक्सिङ्गका जीवन कुमार पुनले उपाधि भिडन्त पक्का गरेका छन् । वेन्टम वैट ५६ केजी तौल समुहमा कास्कीका पुरन रास्कोटी र भक्तपुरका सुजन पौडेलले पनि फाईनलमा भेट पक्का गरेका छन् ।
पुरुष लाईट वैट ६० केजी तौल समुहमा रोल्पाका दिल बहादुर घर्तिमगर र नक्सालका मौसम रानामगर पनि फाईनलमा प्रवेश गरेका छन् । त्यसैगरी लाईट वैल्टर वैट ६४ केजी तौलसमुहमा कास्कीका पवन गुरुङ्ग र नक्सालका विवेक वीर गुरुङ्गले फाईनलमा जम्का भेट गरेका छन् ।
वेल्टर वैट ६९ केजी तौल समुहमा जिमखानाका अनमोल घले र रेजका कोशिष श्रेष्ठ बीच फाईनलमा घम्सा घम्सी हुने पक्का भएको छ । पुरुष ७५ केजी तौल समुहमा टिकाथलीका प्रिन्स खडका र पाटनका सुमन महर्जनले आ– आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै फाईनल प्रवेश गरेका छन् ।
त्यसैगरी महिला यू-१९ अन्तर्गत ४८ केजी तौल समुहमा अल्फाकी शुसिला थापा र नक्सालकी रमीशा श्रेष्ठले आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै फाईनलको यात्रा तय गरे । ५१ केजी तौल समुहमा नक्साल बी की सुमिना खडका र नक्साल ए की तेजी गुरुङ्गले फाईनलमा प्रवेश गरे । वेन्टम वैट ५४ केजी तौल समुहमा नक्साल ए की लाक्पा दिकी शेर्पा र नक्साल की अलिशा खडगीले फाईनलमा भेट पक्का गरेका छन् ।