काठमाडौं । अन्तराष्ट्रिय बक्सिङ महासंघ (आइबा) को अध्यक्षमा पुन: उमर क्रेमलेभ निर्वाचित भएका छन् ।
अर्मेनियाको राजधानी येरेभानमा भएको चुनावी साधारणसभाबाट उमर दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उमरको कार्यकाल ४ वर्षको हुनेछ ।
यस अघि उमर टर्कीको राजधानी इस्तानबुलमा भएको कंग्रेसबाट निर्विरोध निर्वाचित भएका थिए ।
तर, अध्यक्ष उमरविरुद्ध हल्याण्डका अध्यक्ष पदको प्रत्यासी वोरिश मान डि भोसेले खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा हालेको उजुरी उपर वोरिसलाई पनि सहभागीता गराएर निर्वाचन गर्नु भन्ने फैसला भएपछि अध्यक्ष पदको लागि पुन: विशेष साधारणसभा भएको हो ।
साधारणसभामा अध्यक्ष पदको लागि निर्वाचन प्रकियामा जानु पर्छ कि पर्दैन भनी गरिएको भोटिङमा भौतिक रुपमा उपस्थिती जनाएका ९९ सदस्य राष्ट्र एवं भिडियो जुमबाट जोडिएका ५६ सदस्य राष्ट्र गरि कुल १५५ राष्ट्रका मतदाताबाट गरिएको मतदानमा १०६ सदस्य राष्ट्रले फेरि चुनाव गर्नु पर्दैन भन्ने पक्षमा, ३८ राष्ट्रले फेरि मतदान गर्नुपर्छ भन्ने विपक्षमा र ४ वटा राष्ट्र न्युट्रल बस्दा ७ वटा राष्ट्रको मत वदर भएको थियो । यसरी दोस्रो पटक भएको साधारणसभाबाट पनि यस अघि सम्पन्न निर्वाचनलाई नै समर्थन गर्ने गरि उपस्थित मतदाता मध्ये करिब ७५% सहभागी सदस्यहरुबाट उमरलाई विश्वासको मत दिएका थिए ।
साधारणसभामा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा केन्द्रीय सदस्य मान बहादुर भण्डारी अर्मेनिया गएका थिए ।