काठमाडौं । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज आइतबार पहिलो खेल खेल्दैछ ।
नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल राति ८:१५ बजे सुरु हुनेछ ।
सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाल प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा रहेको छ । तर, घरेलु प्रतिद्वन्दीविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन ।
४ राष्ट्र सहभागी प्रतियोगिताको दोस्रो खेलमा श्रीलंकासँग मंगलबार र अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ ।
प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स पुगिसकेका छन् ।
नेपाली टोलीमा कप्तान सदिनासँगै एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन् ।
प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् ।
नेपालका फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।