काठमाडौं । नेतृत्वमा रहदा कर्माछिरिङ शेर्पालाई भट्यो कि फुटबलका नयाँ नयाँ योजना सुनाईहाल्थे । भेटै नभए पनि फोनमा उनी हरेक दिन फुटबलका नयाँ कार्यक्रमको फेहरिस्त बताईरहेका हुन्थे । चार वर्ष एन्फा चलाएका कर्माले फुटबलमा कति गरे, कति गरेनन् समिक्षा हुदै जानेछ । तर, उनले भन्ने गरेको घरेलु फुटबलको संरचनामा खासै काम गर्न भने सकेनन् । ती प्रसंगमा छलफल चल्दा उनी केही समय पर्खिन अनुरोध गर्थे । तर, समय सधै उही नहुने रहेछ । उनलाई समयले पर्खिएन । समयको वेग अहिले पंजकबिक्रम नेम्वाङसम्म आईपुगेको छ ।
कर्मा र पंजकको स्वभावका धेरै समानता छन् । सबैभन्दा ठुलो समानता दुवै नेता खेलाडी पृष्ठभुमीका हैनन् । दुवै क्लब र जिल्ला फुटबलको व्यवस्थापनबाट नेतृत्वमा पुगेका हुन् । फुटबलको प्राविधिक ज्ञानमा दुवै कमजोर छन् । अझ कर्माको समयमा महासचिव ईन्द्रमान थिए । क्लब चलाएका, फुटबल बुझेका, काठमाडौंको फुटबलमा प्रभाव राख्ने महासचिव हुदाँ घरेलु फुटबलको संरचनामा कर्माले खासै काम गर्न सकेनन् । एन्फाको ‘ड्राईभिङ सिट’मा यतिबेला पंजक छन् । उनीसँग घरेलु फुटबलको संरचना बदल्ने प्रशस्त अवसर छन् । यति हो, उनी कति आँट गरेर काम गर्न सक्छन् । या त कर्मा जस्तै समय पर्खन्छन् ।
तितो कुरा तर सत्य कुरा, वर्तमान फुटबलको संरचनाले नेपाली फुटबल कहि पुग्दैन । केही प्रगति हुदैन । केही उपाधि जित्दा, केही हात पनि लाग्ला । तर यो संरचनाले नेपाली फुटबललाई कहि पुर्याउदैन । यो धेरैले बुझेको कुरा हो । धेरैले जानेको कुरा हो । यो संरचनाले केही सिमित ब्यक्तिलाई मोज मजा होला । स्वार्थ पूरा गर्न पुग्ला । तर, फुटबल बन्दैन । बुझेकाहरु बोल्दैनन्, बोल्नेहरुले बुझेका छैनन् । एन्फाको नेतृत्वमा पुगेका धेरैलाई फुटबल बनाउनुपर्छ भन्ने छ । तर फुटबल कसरी बन्छ, त्यसको प्रस्ट उत्तर छैन । यो आजको मात्र समस्या हैन, हिजोको कथापनि यही हो ।
त्यसो भए फुटबल कसरी बन्छ त ? यसको प्रस्ट उत्तर छ । यसको वर्तमान घरेलु संरचनालाई परिवर्तन गर्नैपर्छ । यो परिवर्तन एन्फा, जिल्ला, क्लब, खेलाडी र सिंगो फुटबल सबैको हितमा छ । एन्फाको शक्ति सन्तुलन बिग्रने डरले यसअघिका फुटबल नेतृत्वले यसमा आँट गर्न सकेनन् । पंकजसँग एउटा अवसर भने छ । एउटा कदमले नेपाली फुटबलको सिंगो नक्सा बदल्ने सुनौलो अवसरले उनलाई पर्खिरहेको छ ।
कार्यकालको अन्तिम वर्ष कर्माले विकेन्ड लिगको सुरुवात गरे । हप्ताको अन्तिम दिनमा लिग खेलाउने परम्परा बसाए । अन्तिम चरणका केही खेलहरु छाड्ने हो भने विकेन्ड लिगले घरेलु फुटबलमा राम्रो प्रभाव पार्यो । क्लबले पर्याप्त तयारीको अवसर पाए । खेलाडीले पूर्ण रुपमा आराम पाए । दर्शकले बिदाको दिनमा लिग हेर्ने मौका पाए । सबैभन्दा ठुलो कुरा काठमाडौं बाहिर पहिलो पटक ए डिभिजन लिगका खेलहरु सञ्चालनमा आए । मनाङले पोखरा रंगशालालाई होम ग्राउण्ड घोषणा गर्यो । लिगका केही होम म्याच पोखरामा आयोजना गर्यो । यसले घरेलु फुटबलमा केही सन्देश पक्कै छाडेको छ ।
फुटबललाई पैसासँग जोडिएन भने यसले व्यवसायीक सफलता हासिल गर्न सक्दैन । फुटबल संघको अनुदानको पैसामा लिग खेल्ने बिरलै अभ्यास नेपाली फुटबलमा हुन्छ । एन्फाले पनि क्लबहरुलाई सम्भावना देखाउन सकेन । नीतिगत व्यवस्था गर्न सकेन । क्लबहरुपनि एन्फाकै अनुदानको पैसामा आश्रित भए । सम्भावना खोजेनन् । केही गोलचक्करमा नेपाली फुटबल अहिलेसम्म आईपुगेको छ । एउटा नयाँ ‘ब्रेक थ्रु’ नेपाली फुटबलले मागेको छ । नेतृत्वको ‘बोल्ड डिसिजन’ र समन्वयको खाँचो देखिएको छ ।
घरेलु फुटबलमा नयाँ सिजन सुरु हुदै गर्दा एन्फा र क्लब लिगको मोडालिटीलाई लिएर छलफलमा छन् । लिग कस्तो खेलाउने, कहिले खेलाउने आदी इत्यादी विषय छलफलको एजेण्डा छन् । तर यसपटक क्लबहरु आफै प्रगतिशिल एजेण्डा सहित प्रस्तुत भैरहेका छन् । ए डिभिजनका अधिकांश क्लबले एन्फासंगको छलफलमा डबल राउण्ड रोबिन लिगको माग गरेका छन् । अर्थात लिग अब सिंगल राउण्ड हैन, डबल हुन पर्यो । धेरै क्लबले अब होम एण्ड अवे लिगको मागलाई अघि सारेका छन् । यो नेपाली फुटबलको बदलिदो परिदृष्यको नयाँ आयाम हो । यो आयामलाई एन्फा र यसको नेतृत्वले बुझ्न पर्छ ।
ए डिभिजनमा रहेका अधिकांश क्लबको आफ्नै पीडा छन् । क्लबको आयस्रोत खासै छैन । केही रैथाने क्लबहरु भवन र जग्गा भाडाबाट आउने रकमले चलेका छन् । अधिकांश क्लबको आयस्रोतको अवस्था नाजुकै छ । आम्दानीको नयाँ सम्भावना नखोजी क्लबलाई सुखै छैन । त्यसैले पनि धेरै क्लब अब डबल लिग, त्यसपनि होम एण्ड अवे सहितको घरेलु संरचनाको माग गर्न थालेका छन् । ‘घन’ तातिएकै बेला ठोकेको राम्रो हुन्छ । एन्फा समक्ष घरेलु फुटबलको नयाँ संरचना बदल्ने सुवर्ण अवसर छ । त्यसलाई समन्वय, सहजिकरण र नेतृत्वले सुजबुझ देखाउन सकेको खण्डमा घरेलु फुटबलको भाग्य र भविष्य बदलिन सक्छ । ‘होम एण्ड अवे’को अवधारणा वास्तविक लिगको मर्म पनि हो । जसलाई नेपाली फुटबलले आत्मसाथ गर्न सकेको छैन । यो अवधारणाले सम्बन्धित क्लबलाई अझ व्यवसायीक बन्न र फुटबलको विकास गर्न सुत्राधारको काम गर्छ । यो सुत्रलाई बुझ्न जति ढिला गर्छौ, त्यतिनै नेपाली फुटबलको विकास पछि धकेलिने मात्र हो ।
अब एन्फाले घरेलु फुटबलको नयाँ संरचना लागु नगरि सुखै छैन । क्लबहरुलाई डबल लिग खेल्न प्रेरित गर्ने, होम एण्ड अवे लिग सञ्चालनमा मेहनत गर्ने, क्लबलाई मोफसलमा जान प्रेरित गर्ने, उपत्यका बाहिर जाने क्लबको अनुदान बढाउने, स्थानीय र प्रदेश सरकारसँग सहजीकरण गर्ने र सहयोग जुटाउने कार्यमा एन्फा चुक्नु हुदैन । क्लबलाई मोफसलका रंगशाला र समाजसँग जोडेको खण्डमा क्लबको भविष्य र फुटबलको सम्भावना समृद्ध बनेर जानेछ । क्लबलाई फुटबलको व्यवसायीक सम्भावना र भविष्य देखाउन सकेनौं भने यसलाई समाज र आम मानिससँग जोड्न सकेनौ भने यसको दिर्घकालिन विकास र समृद्धि सम्भव छैन । नेतृत्व सिमिति समयको भुलभुलैयामा हराउनु र रमाउनु बाहेक केही उपलब्धि हात लाग्दैन । अब घरेलु फुटबलको नयाँ संरचनाको बहश सुरु हुन आवश्यक छ । सधै राष्ट्रिय टिमको हार, जितबाट फुटबललाई ठुलो क्यानभासबाट हेर्न जरुरी छ ।