काठमाडौं । यो कुनै सिनेमाको स्क्रिप्ट होइन । न त काल्पनिक पुस्तकको कुनै अंश । यो हो नेपाली महिला फुटबलले आउने पुस्ताका लागि तयार पारेको नयाँ अध्याय । जसले फुटबल मात्र होइन सिंगो नेपाली खेलकुद जगतलाई प्रेरणा दिनेछ ।
गर्वले छाती फुलेको छ । राति निद्रा पनि गजब लाग्यो । १६ सेप्टेम्बर २०२२, यो दिन नेपाली फुटबलको मक्का दशरथ रंगशाला एक इतिहासको साक्षी बन्यो । फुटबलप्रेमी मात्र नभई सारा देशबासीको शिर उच्च भयो ।
एकाबिहानै महिला फुटबल टोलीको सफलता 'चिया गफ' बनेको छ । 'ए हाम्रा महिलाले जितेछन् त' । खेलप्रति खासै लगाब नराख्ने जमात पत्रिकाको पाना पल्टाउँदा सहानुभूति राख्छ ।
'भारतलाई जितेको हो नि चानचुने कुरा हो र !' एक जमात जसलाई थाहा छ यो केवल जित मात्रै होइन उत्सव नै हो उसले उत्साहित हुँदै थप बुझाउन खोज्छ । किनकी यो जमातले १२ वर्ष पर्खिएको छ । यहि दिनको लागि ।
रेफ्रीको अन्तिम सिट्ठीपछि दशरथ रंगशाला जसरी जुर्मुराएको थियो त्यो सामान्य थिएन । यहाँ अनगिन्ती भावनाहरू ओतप्रोत थिए । दशकौंबाट दबेर रहेका कुन्ठाहरु, चोटहरू, पीडाहरु एकैपटक विष्फोट हुँदा उत्पन्न ध्वनिले लाग्थ्यो फुटबल खेलमात्र होइन भावना हो । जीवनशैली हो ।
महिला साफ च्याम्पियनसिप २०२२ । सेमिफाइनल खेल । घरेलु भूमिमा नेपाल भिड्दै थियो चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग । पहिलो हाफको इन्जुरी समयमा जब रश्मी कुमारी घिसिङले बल कन्ट्रोल गरिन, यो त्यही क्षण थियो जहाँ सबैको श्वास केही पलका लागि रोकिएको थियो । तपाईलाई महसुस भएन होला तर विश्वास गर्नुहोस् त्यो बेला मुटु केही पलको लागि धड्किन छोडेको थियो ।
त्यसपछि जे भयो बाँकी इतिहास बनिसकेको छ ।
नेपाल छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरिसकेको छ । दोस्रो सेमिफाइनलमा ५ पटकको साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको छ । अब नेपाल आफ्नो पहिलो साफ ट्रफी उचाल्न आतुर छ । तर त्यसको लागि अँझै एक महत्वपूर्ण खुड्किला बाँकी छ । बंगलादेश ।
तर, त्यस अघि, भारतविरुद्ध धेरैको अपेक्षा थियो कि नेपाललाई समस्या हुनेछ । किनकी साबित्रा भण्डारीलाई डेंगु भएको थियो । नेपालले गोल गर्न सक्ने हो वा होइन कप्तान एन्जिला सुब्बा र उनको टोलीले बारम्बार दर्शकलाई रंगशाला आएर आफुहरुको हौसला बढाउन धेरै अपिल गरिरहेका थिए। दर्शकले उनीहरुलाई निराश बनाएनन् । आफ्ना चेलीहरुको समर्थनमा रंगशालामा ठूलो उपस्थिति जनाए । भारतविरुद्धको ऐतिहासिक जितमा दर्शकको ठूलो भूमिका रह्यो । धन्यवाद आदरणीय दर्शकवृन्द ।
यो नेपाली टोली भिन्न देखिन्छ । यसले गोल गर्नमात्र होइन अब बचाउन पनि सिकेको छ । यस टोलीका सारथी हुन् कुमार थापा । उनै कुमार जो कुनै बेलाका सर्वप्रिय खेलाडी थिए । उनलाई समयले दिएको 'दोस्रो मौका' मा उनी सफल रहे । प्रशिक्षकको रुपमा सन् २०१६ को महिला साफ सेमिफाइनलमा भारतविरुद्धको हार उनको जीवनमा ठूलो पाठ बनेर आयो । त्यसबाट कुमारले सिके । बुझे ।
६ वर्ष पछि ठिक त्यही मोड, ठिक त्यही अवस्था सबैकुरा उस्तै तर नयाँ कुमार थापा । जो सिपालु छन् बोल्नमा । प्रोफेसनल छन् काममा । जसले चुनौती स्विकारेका छन् । जो समस्याबाट भाग्दैनन् । जो आफ्नो कमजोरीलाई ढाकछोप नगरी सत्य देखाउँछन् । महत्वपूर्ण कुरा भनेको वाचा पूरा गरेर देखाउँछन् । यस्ता कुमार थापा यसपटक भारतको सामने थिए । फरक अनुभवको साथमा ।
उनको जीवनमा दशरथ रंगशालाको त्यो साँझले के अर्थ राख्ला कल्पना मात्र गर्न सकिन्छ । भारतसँग बाँकी रहेको पुरानो हिसाबकिताब जोडघटाउ गरेर ब्याज सहित असुलेका छन् । त्यसैले भनिन्छ नि समयले तपाईलाई दोस्रो मौका अवश्य दिन्छ । बस् आफुलाई तयार गरेर राख्नुपर्छ । धैर्यता राख्नुपर्छ ।
उनले महत्वपूर्ण दाउ खेले । धेरैको अपेक्षा विपरीत प्रिती राईलाई भारतविरुद्ध सुरुआत गराउँदा कुमार के गर्न खोजिरहेका छन् भन्ने प्रश्न मनमा थियो । कुनै शंका छैन प्रिती राईले के गर्न सक्छिन् भन्नेमा । यसअघि नै सबैजना उनको क्षमतासँग परिचित भईसकेका थिए । तर प्रतियोगिता अवधिभर दोस्रो हाफमा आएर केहि मिनेट खेलेकी प्रितीभन्दा अन्य अनुभवी खेलाडीले मौका पाउँछन् कि भन्ने अनुमान थियो । यसैपनि सावित्रा त बेन्चमा थिइन् । रेखा वा अमिषाले खेल्ने 'प्रेडिक्सन' विश्लेषकहरूले गरेका थिए ।
कुमारले प्रितीलाई रोजे । स्वयम प्रितीले पनि खेलपछि भनिन्, 'एक्कासी सुरुआती-११ मा त्यो पनि भारतविरुद्ध सेमिफाइनलमा खेल्ने भन्दा अलिकति नर्भस थिएँ ।'
कुमार आफैमा पारङ्गत खेलाडी पनि रहिसकेका प्रशिक्षक हुन् । खेलको मागलाई कसरि सम्बोधन गर्ने उनलाई थाहा छ । आधुनिक फुटबलमा 'नेचुरल इन्स्टिङ्ट' मा विश्वास गर्ने प्रशिक्षकले नै सफलता हासिल गरेका छन् । कुमारको प्रितीलाई सुरुआत गराउने निर्णय सायद उनको करियरकै उत्कृष्ट मध्येको एक निर्णय बन्यो ।
साफको सेमिफाइनलमा भारतविरुद्धको ८३ मिनेट प्रितीको जादुमयी ८३ मिनेट रह्यो । यी 'फुच्चि केटी' ले प्रत्येक टच, प्रत्येक रनले दशरथ रंगशालालाई मोहित पारिन् । दर्शक उनको खुट्टामा बल पर्नासाथ ठुलो आवाजमा चिच्याउँथे । उनको 'वर्क रेट' ले साँच्चै दिवाना बनायो । टाईट डिफेन्सलाई चिर्दै पास निकाल्नु होस् या पोजेसन बनाउनु होस् उनी धेरै स्मार्ट देखिन्थीन । अनि आयो त्यो 'प्रसिद्ध असिस्ट' । दायाँ भागबाट भारतीय डिफेन्सलाई तोड्दै उत्कृष्ट नियन्त्रणमा निकालेको क्रसले रश्मीलाई भेटिन । बाँकी जे भयो सबैलाई थाहा छ । उनीसँग नेपाली महिला फुटबललाई 'नेक्स्ट लेभल' मा लैजान सक्ने क्षमता छ ।
कुमारले भारतविरुद्ध खेल्नु अगाडिबाटै एउटा प्रयोग गर्दै आइरहेका थिए दुई अनितालाई 'लेफ्ट एन्ड राइट' स्विच गरिरहनु । त्यो जारी नै राखे । खेलको सुरुआतमा राइट विङ्ग पोजिसनमा संघर्ष गरेकी अनिता बस्नेत लेफ्टमा जाँदा खेलको पेस अँझै बढ्यो भने अनिता केसीले कम्फर्टेबल रन बनाईन् । उनीहरुले भारतीय डिफेन्डरको ध्यान भंग गरे । सेटल हुन दिएनन् ।
कुमारले हुम्लाकी दिपा शाहीलाई साफमा राष्ट्रिय टोलीबाट डेब्यु गराए । खेलाडी चिन्ने क्षमता होस् त कुमारको जस्तो । वाह ! तपाईं पत्याउनुहुन्छ ? नेपालको यस सफलतासँग जोडिएको सबैभन्दा ठूलो कडि अनि कुमार थापाको ब्रम्हाअश्त्रको नाम हो दिपा शाही । फेरि पढ्नुहोस् यो लाइनलाई ।
दिपाजस्तो खेलाडी हरेक जेनेरेसनले पाईराख्दैन । हो उनको खेल जीवन भर्खरै सुरु भएको छ । तर, नेपाली फुटबललाई अहिलेनै एउटा सल्लाह छ दिपा जस्तै खेलाडी तयार गर्न लागे हुन्छ अब ताकी भविष्यमा समस्या नआओस् । उनी खेलको मोमेन्टम तय गर्ने खेलाडी हुन् । मैदानमा उनकै निर्णयले खेल कस्तो रुपमा संचालन गर्ने तय हुन्छ । उनले होल्ड गरेर बल क्यारि गर्छिन् भने सम्झिनुस् नेपाल आरामसँग पोजिसनमा बिल्डअप गर्नेछ । पासिङ फुटबल खेल्नेछ । उनी स्पेस बनाएर थ्रुबलमा गइरहेकी छिन्, विंगरलाई वाइड पठाउँदै फरवार्डमा सेकेन्ड बल खेलिरहेकी छिन् भने बुझ्नुहोस् कि नेपाल आक्रमणमा छ । गोल चाहन्छ । र, यदि उनी डिफेन्सिभ मिडमा छिन् र डिफेन्डरलाई क्लोज राखेर ब्याकपास अथवा क्लियर गर्दैछिन् भने नेपाल रक्षात्मक बनिरहेको हुन्छ । समग्रमा उनी मिडफिल्ड इन्जिन हुन् । भारतले पास कम्प्लिट नगर्नुमा उनको ठूलो हात रह्यो ।
कुमारले यसअघि रश्मीलाई फल्स नाईन र साइड प्लेमेकर रोल दिन्थे। भारतविरुद्ध सेन्ट्रल रोल दिए । उनीसँग परम्परागत स्ट्राइकरमा हुनुपर्ने गुण छ । शारिरिक बनावट, पेस र स्किल । भारतीय डिफेन्डरलाई अत्यन्तै दुःख दिएकि रश्मीको गोलले जनाउँछ उनी कुन दर्जाको खेलाडी हुन् । उनको टर्न र फिनिश यति दर्शनिय थियो कि यस्लाई विश्वस्तरीय भन्नमा कुनै लोभ छैन । त्यतिमात्र होइन आफुलाई ड्रप गरेर मिडफिल्डरसँग सहकार्य गर्नु, क्रसको माग गरेर पोइन्ट आउट गर्नु अति नै सानदार थियो ।
कुमार भन्दै आइरहेका थिए हाम्रो डिफेन्सको टेस्ट भएको छैन । हो नेपालले कुनै मैत्रीपूर्ण खेलेन न त समूह चरणमा कुनै टोलीले दवाब दियो । यसमा कुमारलाई जति श्रेय दिएपनि कम हुन्छ किनकि उनले अभ्यासमा लगातार डिफेन्सलाई फोकस गरे । नेपाललाई गोल गर्न कहिल्यै समस्या थिएन साम्बा जस्ता धुरन्धरहरु हामीसँगै छन् तर गोल बचाउन नसक्दा नेपाल हार्थ्यो । नेपालले डिफेन्डर जन्माउँथ्यो तर 'क्यारेक्टर' निर्माण गर्दैनथ्यो । यसलाई कुमारले सुधार गरेका छन् । गिता रानाले सेन्टरब्याकको क्यारेक्टर र चरित्रलाई उत्कृष्ट ढंगले निभाईन । दोस्रो हाफमा उनले ८ क्लियरेन्स गरिन । ब्लकको त के कुरा । ट्याकलमा पनि एक्सपर्ट देखिइन । उनको अनुभवले पुनमसँगको समझदारी एकदमै भिन्न देखिन्थ्यो ।
भनिन्छ यदि पुनम जर्घा फिट छिन् भने नेपालको आधा पर्खाल ढुक्कसँग बन्छ । खेल जिवनको उतारचढावले पुनमलाई अँझ शसक्त बनाएको छ । उनी यस्तो खालको डिफेन्डर हुन जो गल्ती गर्दिनन् । भारतविरुद्ध प्रभावशाली 'साइलेन्ट डिउटी' निभाइन् । डिफेन्डर गल्ती नगर्ने भरपर्दो हुनुपर्छ । खेलमा यस्तो किसिमको डिफेन्डरबाट वाह ! क्षण विरलै आउँछ तर राम्रो प्रदर्शन एकैनासले आउँछ ।
सरु लिम्बु सबैको 'फेभरेट' हुन् । उनको लोकप्रियता पनि उनको खेल जस्तै छ । सुन्दर । रिदममा बग्ने । मिडमा उनी सललल बगेकी थिइन । सर्ट टर्न होस या पास एक्युरेसि यसमा उनी बिषेशज्ञ हुन् । भारतविरुद्ध पहिलो हाफमा केही अफ थिइन् तर दोस्रो हाफमा आफ्नो स्तर फेरि देखाइन् । समग्र मिडफिल्डलाई एउटै धागोमा बाँधेर राख्ने तलमाथि हुन नदिने उनको जिम्मेवारी थियो ।
कप्तान एन्जिला तुम्बाप्पो सुब्बा । उनको लिडरसिप उनको सबैभन्दा ठूलो हतियार हो । जस्तोसुकै टोलि होस् एकजना नेता भएन भने टोली बिखण्डन हुन्छ । एन्जिला यस टोलीले रोजेको नेता हुन् । उनमा नेतृत्व गर्नसक्ने खुबी पहिल्यैदेखि थियो । जब उनी कप्तान थिइनन् त्योबेला पनि सबै खेलाडीलाई निर्देशन दिरहनु, पोजिसन सम्झाइरहनु, पासको दिशा बताइरहनु, जागरुक बनाईरहनु उनको बिशेषता थियो । अब त्यो मोटिभेसन झनै असरदार बनेको छ । उनले भारतले प्रहार गरेका पाँच अन टार्गेट सटहरुलाई रोकिन् । दुई तीन पटक त दशरथ रंगशालामा दर्शकको झन्डै गोल भएको रियाक्सन आयो । एन्जिला एकदमै अलर्ट थिइन र दुर्घटना हुन दिइनन् । टाइम कन्ज्युमिङ, लङ बल र रिलिज गजब थियो । उनकै कप्तानीमा नेपालले ऐतिहासिक जित हासिल गर्यो ।
फुलब्याकद्वय हिरा कुमारी भुजेल र अमृता जैसीलाई भारतीय विंगरबाट धेरै दबाब थियो । पहिलो हाफमा सुरुआतमा केहि लय नभेटेपनि अमृताले केहि राम्रा क्लियर र इन्टरसेप्ट गरिन् । उनको अनिता बस्नेतसँग नमिलेको तालमेलले केहि चिन्ता उत्पन्न गराएपनि बिस्तारै उनले पनि लय भेटिन । भारतले दोस्रो हाफमा पेस भएकी सौम्यालाई उतारेपछि डायग्नल स्विच धेरै खेल्यो यस्तोमा हिरा कुमारी भुजेल इन्भर्ट भएर उत्कृष्ट इन्टरसेप्ट गरिन् । भारतीय टोलीबाट धेरै क्रसहरु हुन नसक्नुको प्रमुख कारण अमृत र हिरा हुन् । त्यसपछि उनीहरू लङ बल खेल्न थाले जस्ले गर्दा भारतको सम्भावना कम हुँदै गयो ।
कुमारले एकदमै 'लेट सब्स्टिच्युट' गरे जुन जायज थियो । इतिहास रच्न सजिलो हुँदैन । सबै खेलाडीलाई सकुशल राख्न सक्नुमा उनको प्रसंशा गर्नुपर्छ । परिवर्तन भएर आएका अमिषा, समिक्षाले पनि निर्देशन अनुसार योजनावद्ध काम गरे । कुनै 'एक्स्ट्रा' गर्नु आवश्यक थिएन ।
४-४-२ फर्मेसनलाई कुमारले निरन्तरता दिएका छन् तर केहि परिमार्जित स्वरुपमा । ट्रान्जिसनल सेपमा ४-३-३ पनि राखे । डिभेन्सिभ ड्युटीमा ५-३-२ पनि रह्यो । मतलब टोलीलाई 'फ्लेक्जिबल' बनाएका छन् । यो कडा अभ्यासको प्रतिफल हो । जहिल्यै दिक्क लाग्ने मिस पासहरु अहिले कम देखिन्छ । वान टच पासमा समेत एक्युरेसि विरलै देखिन्थ्यो । अहिले हेरिरहुँ झैँ लाग्छ । यसमा कुनै दुईमत छैन भारतविरुद्धको खेल नेपाली महिला टोलीले खेलेको अहिलेसम्मकै उत्कृष्ट खेल हो । न कुनै यता उता, कुनै लक, कुनै गल्ती कुनै केही पनि होइन । मात्र सुन्दर फुटबल ।
खेल पूर्वका 'अड्स एन्ड इभन्स' का बावजुद नेपाली टोली भारतलाई हराउन सफल भएको छ । १२ वर्ष देखि चपाउँदै आएको फलामको च्युरा अन्ततः टुटेको छ । भनिन्छ नि, १२ वर्षमा खोला पनि फर्किन्छ । खोला फर्किएको छ ।
नेपाली टोलीको फिटनेस बिगतमा भन्दा अब्बल देखिन्छ । यसमा तारिफयोग्य काग गरेका छन् फिजिसियन र मेडिकल टोलीले । कुमार एन्ड कम्पनी अब पहिलो उपाधि सपना साकार बनाउन एकदमै नजिक छ । बंगलादेशको चुनौती पनि कम भने हुने छैन । तर गोर्खाली जोसको कुरै बेग्लै ! देख्नुभएन दशरथ रंगशालाको १२ औं खेलाडीलाई ?
नेपाली जनताको लागि त पहिले नै विजेता भईसक्यो । कुरा जब भारतको आउँछ राष्ट्रियताको भावना दोब्बर त हुने नै भयो । भारतको दबदबाले आजित फुटबलप्रेमी ले आफ्नै आँखा अगाडी जे देखे त्यसलाई आ आफ्नै शब्दमा व्याख्या गरे । धेरै सुनिएको टिप्पणी थियो 'यस्तो दिन पनि देख्न पाइँदो रहेछ त' । भारतविरुद्धको जितलाई धेरैले आश्चर्य नै मानेका छन् ।