काठमाडौं । बंगलादेशका महिला टोलीका मुख्य प्रशिक्षक गुलाम रब्बानी छोटोन जब आफ्नो टोली लिएर महिला साफका लागि नेपाल आए, उनलाई उनको टोलीको अवस्थाको बारेमा सोधिएको थियो ।
उनले भनेका थिए, 'बंगलादेशले आफ्नो सर्वकालीन उत्कृष्ट खेल खेल्नेछ ।'
यस अघिनै महिला साफमा बंगलादेशले अप्रत्यासित नतिजा निकाल्न सक्ने अनुमान थियो ।
महिला साफको इतिहासमै पहिलोपटक भारतीय टोलीलाई ३-० ले पराजित गर्दै बंगलादेशको टोलीले अनुमानलाई सहि साबित गरेको छ । वास्तबमै यो नतिजा अप्रत्यासित थियो ।
यो ऐतिहासिक जितले सारा दक्षिण एसियामा बंगलादेशी महिला टोलीको बखान सुरु भएको छ । त्यतिमात्र होइन एएफसीले समेत यो जितलाई 'बंगलादेशी फुटबलमा नयाँ क्रान्ति' को संज्ञा दिएको छ ।
यदि भारतलाई इतिहासमै कुनै टोलीले पराजित गर्न सक्थ्यो भने त्यो कुनै दिन बंगलादेश नै हुन्थ्यो । यसका धेरै कारण छन् ।
बङ्गाल सकर एजेन्सीका प्रमुख निलय बिश्वासको भनाईमा सारा बंगलादेश यस जितको पर्खाइमा लामो समय देखि थियो ।
'५ वर्ष अघि जब हामीले भारतविरुद्ध पहिलो बराबरी खेलेका थियौं त्यही दिनदेखि नै बंगलादेशी महिला टोलीका हरेक सदस्यको दिमागमा यो कुरा गहिरिएर बसेको थियो । त्यसपछि साफ फाइनलमा हामी एकदम नजिक थियौं । समय समयमा हामीले भारतबाट झट्काहरु देखेका छौं । अन्तत : त्यही झट्काले हामीमा उर्जा थप्दै गयो,' विश्वासले खेलपाटीलाई भने ।
पूर्व बंगलादेशी राष्ट्रिय खेलाडी राशेदुल इस्लामका अनुसार यो त केवल सुरुआत मात्र हो । २०१६ को साफमा टोलीसँगै गएका उनी यस जितपछी बिगत सम्झिएर रोमान्चित हुन्छन् ।
'पहिलो पटक फाइनल प्रवेश गर्नुअघि समूह चरणमा भारतसँग बराबरी भएको थियो। यसअघिका लगातार तीन च्याम्पियन भारतसँग अन्तिम चरणमा ३–१ ले पराजित भए पनि सबिनाले सबैको मन जितेकी थिइन् । कृष्णाको स्टेप ओभरमा भुइँमा भारतीय लेफ्ट फुल ब्याक घुमेको दृश्य मलाई अझै याद छ,' उनी भन्छन ।
अहिले प्रशिक्षणमा रहेका इस्लाम महिला फुटबलसँग नजिक छन् । एउटा विश्लेषकको रुपमा उनलाई हेरिन्छ । उनी थप्छन्, 'त्यो बेला फाइनल खेल्ने बंगलादेश टोलीको औसत उमेर १८ वर्षभन्दा कम रहेको थियो । सेफरको २० सदस्यीय टोलीमा १५ जना एएफसी यू–१६ अपराजित च्याम्पियन टोलीका सदस्य थिए । फाइनलअघि कुनै गोल पनि नखाएको बंगलादेशको डिफेन्स पूरै यू-१६ टोलीको थियो । समग्रमा मैले प्रतियोगिताको अन्त्यमा गरेको हिसाबले दक्षिण एसियाली महिला फुटबलमा बंगलादेश भविष्य हो । बंगलादेशका महिला खेलाडीप्रति म विश्वस्त भएको थिएँ । सिलगढीमा गर्न नसके पनि भविष्यमा अवश्य गर्नेछन भनेर ।'
इस्लाम खुशीले गदगद छन् । एक त बंगलादेशले जित्यो अर्को उनको हिसाब पनि मिल्यो ।
'दक्षिण एसियाली महिला फुटबल लामो समयदेखि भारतको कब्जामा थियो, अहिले पनि छ । पहिलो बराबरी ५ वर्षअघि आएको थियो । जित बाँकी थियो । त्यो पनि आज पाए । हिसाब मिल्न थालेको छ,' हाँस्दै उनले भने । आफ्नो फेसबुक वालमा पनि उनले खुशी साटेका छन् ।
बंगलादेश फुटबलको महत्वाकांक्षा केहि वर्षयता बेला बेलामा प्रमाणित हुँदै आइरहेको छ । विश्वकप एसियन छनोटमा सिनियर पुरुष टोलीले भारतीय टोलीलाई हराउँदा होस् या भर्खरै मात्र यू-२० साफमा युवा टोलीले भारतीय युवा टोलीलाई मात दिँदा होस् बंगलादेशले अबको दक्षिण एसियाली फुटबलमा पावरहाउस बन्ने लक्ष्य राखेको देखिन्छ । त्यही महत्वाकांक्षा र दृढ विश्वासले महिला टोलीले पनि यो काम सफलता पुर्वक गरेर देखाएको छ ।
बंगलादेशको च्याम्पियन टोली बसुन्धारा किंग्सका लाइसन म्यानेजर र एएफसीमा समेत रहिसकेका निलय विश्वास भन्छन्, 'बंगलादेश फुटबलको बारेमा पछिल्लो ३/४ वर्ष यता धेरै कुराहरु सुन्न पाइरहेका छौं । यो खुशीको कुरा हो । यदि यसपटकको साफमा महिला टोलीको बारेमा सोध्नु हुन्छ भने मैले पहिलेदेखि भन्दै आएको थिएँ की हामी अन्डरडग टोली होइनौं । हामी उपाधि दाबेदार हौँ । साफमा अन्य टोली भारतविरुद्ध खेल्दा जहिल्यै हतास हुन्छन् यसको मुख्य कारण शारीरिक भाषा हो । यदि तपाइँ खेलपूर्व नै हारिसक्यौं भन्ने मानसिकता बोकेर आउनुहुन्छ भने भारतले तपाईलाई छोड्दैन ।'
निलय मान्छन अन्य टोलीले पनि अब आफ्ना खेलाडीको शारीरिक भाषा सुधार्नु आवश्यक छ । यसका लागि फिजिकल स्ट्रेन्थमा जोड दिनुपर्छ ।
'तपाई भारतविरुद्ध उत्रिदा उनीहरुलाई सम्मान नदिनुहोस । बुझ्ने भाषामा भन्नु पर्दा उनीहरुमाथि सिधै जाइलाग्नुहोस् । तर्साउनुहोस् । लखेट्नुहोस् । तर एउटा कुरा के ध्यान दिनुपर्छ भने तपाइले यस्तो पुरै ९० मिनेट नै गर्नुपर्ने हुन्छ । त्यसैले तपाईलाई फिजिकल स्ट्रेन्थ र इस्टामिनाको आवश्यकता हुन्छ ।'
बंगलादेशको महिला लिग सकिएको लामो समय भईसकेको छ । २–३ महिनापछि फेरि सुरु हुँदैछ भन्ने कुरा सुनिन थालेको छ । ५ /६ महिना मात्र चल्ने लिग प्रयाप्त छैन । बाहिर सबैले भन्ने गरेको जस्तो बीएफएफले महिला ग्रासरुटमा ठुलो लगानी पनि गरेको होइन । तर एउटा कुरा धेरै राम्रो भएको छ त्यो हो बर्तमान टोलीका सदस्यहरुलाई उमेर समूहदेखि लगातार सँगै राखेको छ । यसले गर्दा उनीहरुमा राम्रो समझदारी छ । एक आपसमा घुलमिल भएका छन् । यो कुरा तपाई उनीहरुको खेल भईरहेको बेलामा पनि देख्न सक्नुहुन्छ ।
ढाकाबाट फुटबल विश्लेषक पियाल हसन मुराद खेलपाटीसँगको कुराकानीमा भन्छन्, 'बंगलादेश फुटबल एसोसियसनको ग्रासरुट्समा धेरै लगानी छैन । न त महिला लिग नै राम्रो छ । यो ब्याच धेरै पुरानो र कडा परिश्रम गर्ने ब्याच हो । उनीहरु लामो समयदेखि सँगै छन् । भारतविरुद्धको जितको रहस्य उनीहरुले आफ्नै समझदारीमा विकास गरेको एक सुत्र हो जुन सुत्रमा एक अर्काको लागि मरिमेट्ने भावना जोडिएको छ । धेरै खेलाडीहरु बंगलादेशको दुर्गम दक्षिणपूर्वी पहाडी क्षेत्रका गरिब परिवारबाट आएका हुन् । अखी, खातुन, कृष्णा, सन्जिदा, तहुरा, विश्वास आदि खेलाडीहरु ग्रामीण क्षेत्रका हुन् । तपाईले जति खेलाडीको अन्तिम नाम चक्मा देख्नुहुन्छ तिनीहरू सबै हिल ट्रयाकका हुन् । सबैले नियमित रूपमा कडा मेहनत गर्छन् त्यसैले उनीहरु शारीरिक रूपमा बलियो छन् ।'
यद्दपी फुटबल संघले केहि पनि नगरेको भने होइन । यो कुरा फरक हो की चाहिने जति गरेको छैन होला । तर पछिल्लो समय यस्तै यस्तै अप्रत्यासित नतिजाको प्रभावले होला बीएफएफले पनि अब आँखा खोल्न थालेको छ । खेलाडीप्रति जिम्मेवार बनिरहेको जस्तो देखिन्छ । यो कुरा निलय पनि स्विकार्छन् ।
'हाम्रो नजरमा हाम्रो भन्दा तपाईहरुको संघले महिला फुटबलप्रति राम्रो लगाव राखेको होला' यो भनिरहँदा उनी हास्छन् । 'ग्रासरुटमा लगानी छैन तर बीएफएफले एक वर्षको प्रशिक्षण शिविर भने राख्छ । त्यो शिविरमा करिब ४० जना महिला खेलाडीहरू बस्छन् । हाम्रो लिग राम्रो छैन तर बीएफएफले लिगलाई व्यावसायिक बनाउन खोजिरहेको छ । यो राम्रो संकेत हो ।'
त्यसो भए बंगलादेशले अहिलेसम्म खेलाडी कसरी उत्पादन गर्यो ?
एएफसी एकेडेमिक सेन्टर अफ एक्सिलेन्स-एसीईबाट फुटबल म्यानेजमेन्टमा सर्टिफिकेट हासिल गरिसकेका निलय यस प्रश्नको उत्तरलाई बिद्यालय स्तरमा जोडेर हेरिनुपर्ने बताउछन् ।
'हामीसँग एक महिला प्रतियोगिता छ । सबै प्राथमिक विद्यालयका छात्राहरूले प्रतियोगिता खेल्छन् । यसलाई बांगोमाता गोल्डकप प्रतियोगिता भनिन्छ जहाँबाट अधिकांश महिला खेलाडी उमेर समूह हुँदै राष्ट्रिय टोलीको लागि छनोट हुने गरेका छन् । बंगलादेशको महिला खेलाडी स्काउटिङको मुख्य आधार अहिलेसम्म स्कुल लिग नै रहेको छ । यसलाई बंगलादेश सरकारले नै हेर्दै आइरहेको छ भने बीएफएफले समन्वय मात्र गर्ने गर्छ ।'
निलयले भने जस्तै स्कुल लिगको महत्व कति छ भन्ने वर्तमान टोलीकी उत्कृष्ट खेलाडी मारिया मान्डालाई हेरेर बुझ्न सकिन्छ । सन् २०११ मा, मारिया फुटबल लागिन । उनी २०१३ मा धोबौराको प्रसिद्ध कलसिन्दुर सरकारी प्राथमिक विद्यालयको पहिलो च्याम्पियन बनेको टोलीको सदस्य थिइन् । २०१४ मा मारियालाई यू-१४ को राष्ट्रिय टोलीमा बोलाइयो । उनी उपकप्तान बनिन र बंगलादेशले ताजकिस्तानमा भएको एएफसी यू–१४ क्षेत्रीय च्याम्पियनसिप जितेको थियो ।
उसो त यस टोलीको विजयमा अनगिन्ति कारणहरु छन् । तर प्रत्यक्ष श्रेय भने खेलाडी र प्रशिक्षकलाई नै दिनु पर्छ । बंगलादेश फुटबलले महिला फुटबलको जिम्मा अग्रणी हस्ती गोलोम रबानी छोटोनलाई सुम्पिनु एक राम्रो काम थियो । सन् २००९ देखिनै उमेर समूहबाट महिला टोलीको रेखदेख गरिरहेका गोलोम अहिले आफ्नो प्रशिक्षण जीवनको सबैभन्दा सुन्दर क्षणलाई महसुस गरिरहेका छन् ।
कप्तान सबिना खातुन जस्ता धुरन्धर खेलाडी बनाउनुमा गोलोमकै हात छ ।
'बंगलादेश फुटबल भाग्यमानी छ की हामीले सबिना जस्तो खेलाडी यहि युगमा पायौं,' जारी साफमा पनि ह्याट्रिक गरिसकेकी सर्वकालीन महान बंगलादेशी महिला गोलकर्ताको बारेमा निलय भन्छन् ।
बीएफएफले महिला लिगमा व्यावसायिकता ल्याउन प्रयास गरिरहेको छ । गत सिजन बंगलादेश पुरुष लिगका केही कर्पोरेट क्लबहरूले पनि महिला लिगमा भाग लिएका थिए । फलस्वरूप त्यहाँ प्रतिस्पर्धा बढ्दै गएको छ । संघले आगामी सिजन सबै क्लबलाई महिला टोली बनाउन अनिवार्य गरेको छ । महिला लिगमा विदेशी खेलाडी नभएकाले माथिल्लो डिभिजनमा देशकै खेलाडी खेलिरहेका छन् । त्यसको फाइदा राष्ट्रिय टोलीले पनि पाइरहेको छ ।
पत्रकारितामा पनि कलम चलाउने विश्लेषक पियाल हसन मुराद थप्छन, 'अधिकांश खेलाडीको पृष्ठभूमि खासै सुखद छैन । पितृसत्तात्मक समाजमा खेलकुद खेल्ने महिलालाई पनि फरक नजरले हेरिन्छ । हाम्रो समाज महिलाको खेल्ने सवालमा भारत, नेपालजस्तो खुला छैन । यी ठाउँबाट महिला फुटबलर आउन गाह्रो थियो । यद्यपि, मुलधारको फुटबलमा उनीहरूको प्रवेश स्कूल फुटबल मार्फत भईरहेको छ । अब भारतविरुद्धको जितले समग्र बंगलादेशी महिला खेलकुदलाई नयाँ दिशा दिनेछ भन्ने विश्वास छ । म संघलाई पनि धन्यवाद त दिन्छु नै । यहाँ संघप्रति मानिसहरुको धारणा खासै सकारात्मक छैन तर संघले लामो समयदेखि महिला फुटबलमा सफलता दिलाउन काम गर्दै आएको छ । यस सफलताको मुख्य कारण हाम्रो महिला फुटबल लिगका साथै अभ्यास लगायत राम्रो अवलोकनबाट खेलाडीहरूलाई दिइएको अवसर हो ।'
एकपटक छनोटमा परिसकेपछि उनीहरुलाई लगातार माथिल्लो लेभलमा फुटबल खेलाउने बीएफएफको नीतिले अन्तत: सफलता हासिल गरेको छ । ठुला टोलीविरुद्धको मैत्रीपूर्ण खेलबाट उनीहरुमा गजबको आत्मविश्वास भरिएको छ । यहि आत्मविश्वासको प्रतिफल हो भारतमाथिको विजय ।