काठमाडौं । एकपटक फेरि अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् । सामाजिक संजालमा यस अघि पनि बारम्बार राजीनामा घोषणा गरिसकेका अलमुताइरी विगतमा भन्दा अहिले भने केहि 'सिरियस' देखिएका छन् । त्यो स्वभाविक पनि हो । हिजो उनी घुर्क्याउन सक्थे । धम्कीको शब्दमा बारम्बार फुटबलप्रेमीको भावनासँग खेल्ने छुट उनलाई थियो । सबैकुरा उनको अनुकुल हुन्थ्यो । उनी त्यसको भरपुर प्रयोग गर्थे ।
तर, आज हावा बिपरित दिशामा बहिरहेको छ । अवस्थाले कोल्टे फेरेको छ । परिस्थिति उनको प्रतिकुल बनेको छ । उनकै आँखा अगाडी फुटबल नेतृत्वबाट उनका 'प्रिय' हरुको बहिर्गमन भयो । हेर्दाहेर्दै उनका 'जानी दुश्मन' हरु अब उनलाई हुकुम दिने ठाउमा आइपुगे । यस्तो अवस्थामा हिजो तातो राप दिने 'प्रचण्ड' अलमुताइरी, आज सिथिल बनेर 'सिरियस' सुनिनुमा कुनै आश्चर्य छैन ।
'नेपाली फुटबलमा ५२५ दिनको सेवापछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु । खुशी, माया, दु:ख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद । वान टिम, जय नेपाल।'
नेपाली फुटबललाई सम्बोधन गर्दै अलमुताइरीले सामाजिक संजालमा लेखेको स्ट्याटस हो यो । कति बाठा छन् अलमुताइरी ! जाँदाजाँदै पनि भावना जोडेर सहानुभूति बटुल्ने प्रयास गर्दैछन् । एउटा कुरा के दाबी गर्न सकिन्छ भने इतिहासका कुनै पनि प्रशिक्षकले सामाजिक संजालमा अलमुताइरी जस्तो समर्थकप्रति समर्पण देखाएका थिएनन् । भलै आफ्नो फाइदाको लागि भएपनि उनले समर्थक र प्रशिक्षकबीचको सम्बन्धलाई नयाँ आयाम दिने काम गरेका थिए । यसलाई कतिले उनको 'स्टन्टबाजी' भएको भन्दै आलोचना समेत गरे भने कतिपयले उनीसँग छिट्टै घुलमिल हुनसक्ने कला भएको भनि प्रशंसा गरे । जे होस् पंक्तिकारको विश्लेषणमा उनी एक 'मार्केटिङ स्किल' ले भरिपुर्ण व्यक्ति हुन् ।
नेपाली टोलीको प्रशिक्षकको रुपमा उनको ५२५ दिन धेरै कुराहरु अचानक नै भयो । उनको आगमन अचानक थियो । नेपाली फुटबलको प्रशिक्षण होस् या मैदान बाहिरको शैलीमा देखिने गरेरै आएको परिवर्तन अचानक थियो । त्यो बेलामा उनले प्रयोग गर्ने गरेको 'वान टिम, जय नेपाल' को सिद्धान्त यति लोकप्रिय बन्यो की फुटबलमात्र नभई अन्य खेलमा पनि यसको प्रयोग हालसम्म पनि प्रयोग गर्ने गरिन्छ । त्यो पनि ह्यासट्याग सहित ।
नेपाली खेलाडीले ठुला टोलीविरुद्ध गोल गर्दै लामो समयदेखिको गोल खडेरी अन्त्य गरेको पनि अचानक थियो । युवा र नया खेलाडीको आगमन नेपाली टोलीमा अचानक देखियो । यसले खेलाडीमा मेहनत गरे अवश्य राष्ट्रिय टोलीमा परिन्छ भन्ने भावनाको विकास गर्यो । उनकै कारणले अचानक एन्फाभित्रको गहिरो राजनीति सार्वजनिक हुन थाल्यो । तत्कालिन बरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङविरुद्ध स्ट्याटस प्रकरण होस् या पत्रकारसँगको लफडा यी सबै उनले अचानक गरिरहेका थिए । उनलाई कुनैबेला बुबा जस्तो मान्ने सिनियर खेलाडीलाई अचानक निकाल्नु होस् या पटक पटक राजीनामाका स्ट्याटस लेख्नु उनका यी काम अचानक नै हुन्थे । उनी एक 'अनप्रेडिक्टेबल' प्रकृतिका मानिस हुन्।
उनको प्रशिक्षणमा नेपाल इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो। यो कस्तो दुर्लभ घटना । फुटबलले अत्यधिक माया पनि गरेका, फुटबलले गर्दा नै अत्यधिक घृणा पनि सहेका अलमुताइरीकै पालामा नेपाली फुटबलले यो उपलब्धि हासिल गर्यो ।
सरकारले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको टोलीलाइ सम्मान गर्दा उनी प्रमुख पात्र थिए । प्रधानमन्त्री शेर बहादुर देउवाले उनलाई सम्मान गरेका थिए । उनको स्वभाव बुझेका मानिसलाई यो पत्याउन पनि करै लाग्छ । हुन त ठुलो कुरा होइन टिमले नतिजा निकाल्दा प्रधानमन्त्रीले सम्मान गर्नु अनौठो होइन । तर सम्मानित हुने अलमुताइरी हुन् । त्यहि अलमुताइरी जसलाई पछी छानबिन समितिले 'मानसिक रोगी' बताएको थियो । यो चाहि अनौठो भएन र ?
उनको जस्तो लोकप्रियता सायदै कुनै प्रशिक्षकले पायो । त्यसपछि सुरु हुन थाले उनका सिलसिलेवार काण्डहरु । अन्तिममा आएर राजीनामाको दिन ।
अचानक ! उनी सगरमाथाको चुचुरोमा पुगे । अचानक ! चुचुरोमा टिक्न सकेनन्, बेस क्याम्प झरे । फेरि अचानक ! त्यहाँबाट पनि तलै नाम्चे तिरै लागे । भनाईको मतलब तपाईहरु बुझ्न सक्नुहुन्छ ।
इंग्लिस प्रिमियर लिगमा अलमुताइरी लिभरपुललाई पछ्याउने गर्छन । युरोपियन फुटबललाई राम्ररी बुझेका उनी एक राम्रा प्रशिक्षक त हुन् तर कुशल व्यवस्थापक होइनन । नेपालमा एक समय सबैभन्दा धेरै रुचाइएका प्रशिक्षकको बहिर्गमनमा उनको यहि कमजोरी एक प्रमुख कारण बन्यो । उनी खेलाडी व्यवस्थापनमा नराम्ररी चुके । त्यहाबाट नै उनी प्रतिको सद्भाव र माया घट्दै गयो । अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए ।
त्यसअघि गत वर्षको साउन १० गते अलमुताईरीले एन्फाका तत्कालिन वरिष्ठ उपाध्यक्ष तथा हालका अध्यक्ष नेम्वाङको कारण खुलाउदै राजीनामाको घोषणा गरेका थिए । तर, पछि उनले राजीनामा फिर्ता लिदै एन्फासँगको सम्झौता थप गरेका थिए ।
मैदान बाहिरका कुरा उनले बेवास्ता गरेर नतिजामा मात्र ध्यान दिन्थे भने उनको प्रशिक्षणमा नेपालले जे हासिल गर्यो त्यो अझ धेरै हुन सक्थ्यो । तर परिदृश्य यस्तो बनिदियो की उनी खेल जित्न नभई मन जित्न आएका जस्तै देखिए । उनलाई लाग्यो समर्थकहरुलाई मात्र बाँधेर राखे मात्र सबै सहि हुनेछ । कहिले नेपालीमा स्ट्याटस लेखेर त कहिले ठट्टा मजाक गरेर उनी समर्थकको मन जित्न भने तल्लिन थिए । यतिसम्मकी त्यसको लागि उनले नेपाली मिडियालाई समेत बाइपास गरे ।
अलमुताइरीको कार्यकाल
एन्फाले २०७७ चैत २२ गते अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । त्यसपछि विवाद नै विवादकाबीच फुटबल गतिबिधिमा उनी सक्रिय भए । अलमुताईरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो । गत असोजमा माल्दिभ्स भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित हुँदा उपाधिबाट बन्चित बनेको थियो ।
यस्तै नेपालले अलमुताइरीको नेतृत्वमा एएफसी एसियन कप छनोटको दोस्रो चरण खेलेको थियो ।
अलमुताईरीको नेतृत्वमा नेपालले १७ अन्तराष्ट्रिय खेल खेलेको छ । कुवेती प्रशिक्षकको नेतृत्वमा नेपालले पहिलो खेल इराकविरुद्ध खेलेको थियो भने अन्तिम खेल इन्डोनेसियाविरुद्ध रह्यो ।
कुवेती प्रशिक्षकको नेतृत्वमा नेपालले ५ खेल मात्र जित्न सक्यो । तर, १० खेलमा हार व्यहोर्यो । यस्तै दुई खेलमा बराबरीको नतिजा निकालेको छ । यस्तै उनको नेतृत्वमा नेपालले १७ खेलमा १४ गोल गर्दा ३६ गोल खाएको छ ।
कुवेती प्रशिक्षकले नेपालका युवा खेलाडीलाई भने मौका दिएका थिए । उनले १६ खेलाडीलाई राष्ट्रिय टिममा डेब्यु गराएका थिए । नयाँ खेलाडीमा आत्मविश्वास पैदा गरे । चाहे जुनसुकै तरिकाले नेपाली फुटबल इतिहासले उनलाई सम्झिएला तर बिर्सन भने कहिल्यै सक्नेछैन । उनी प्रशिक्षक रहँदासम्म फुटबल जगत संधै चर्चामा रह्यो । नयाँ पुस्ताको रुची ह्वात्तै बढ्यो । युरोपियन फुटबलमा रमाउने पुस्तालाई नेपाली फुटबलमा चासो राख्नेसम्म बनाउनमा उनको योगदान छ । चाहे नाम होस् या बद्नाम तर उनको कारण फुटबल गुमनाम भएन ।
अन्तत: विवादै विवादका पर्याय बनेका लोकप्रीय प्रशिक्षकले नेपाली फुटबललाई बाइबाइ भन्ने निर्णय लिएका छन् । आफ्नो खुशीले त पक्कै होइन । उनको राजीनामा पनि फुटबल राजनीतिको एक पहेली हो भन्ने बुझ्न कठिन छैन ।
नेपाली फुटबलमा अलमुताईरीको प्रशिक्षण काल कस्तो रह्यो जाँदाजाँदै उनले आफै बुझाएर गएका छन् । उनले आफ्नो यात्रालाई 'खुशी, माया, दु:ख र पीडाको यात्रा' भनेका छन् । एकदमै सहि भने उनले । केहि राम्रा केहि नराम्रा अलमुताईरीका ५२५ दिनहरु नेपाली फुटबल इतिहासले सदैब सम्झिरहनेछ । ठ्याक्कै उनले भने जस्तै 'खुशी, माया, दु:ख र पीडा'का ५२५ दिनहरु ।