काठमाडौं । नेपालले लगातार दोस्रो पटक आफ्नै भूमिमा दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता महिला साफ च्याम्पियनसिप आयोजना गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने महिला साफ भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।
भारतको फुटबल संघलाई फिफाले लगाएको प्रतिबन्ध फुकवा भएसँगै साविक विजेता भारतको पनि प्रतियोगितामा सहभागिता जनाउने बाटो खुलिसकेको छ । तसर्थ यस प्रतियोगिताको रोमान्चकता पुन: कायम हुनेमा फुटबल प्रेमी ढुक्क छन् ।
समूह विभाजन अनुसार समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह 'बी' मा आयोजक नेपाल, श्रीलंका र भुटान छन् ।
छैटौं साफमा सहभागिता जनाउने टोली कस्ता छन् ?
नेपाल -
फिफा वरीयतामा १०२ स्थानमा रहेको नेपालले महिला साफको १२ वर्षे इतिहासमा अहिलेसम्म उपाधि चुम्न पाएको छैन । महिला साफका पाँच संस्करणमा नेपाल चार पटक उपविजेता बनेको छ । सन् २०१६ को महिला साफमा मात्र नेपालले फाइनल खेलेन । भारतसँग सेमिफाइनलमा नै भेट हुँदा नेपाल फाइनल पुग्न सकेको थिएन । २०१६ मा नेपाल वर्तमान प्रशिक्षक कुमार थापाकै नेतृत्वमा थियो ।
महिला साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापा दोहोरिएका छन् । उनले घोषणा गरेको साफ खेल्ने महिला टोलीमा केहि नयाँ अनुहार पनि समेटिएका छन् । नेपालको उमेर समूहमा राम्रो छाप छाडेका यू–१८ र यू–१९ टिमका खेलाडी पनि पहिलो पटक सिनियर टोलीमा अटाएका छन ।
गत मार्चमा साफ यू-१८ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध विश्व स्तरीय गोल गरेर चर्चामा आएकी कर्णाली प्रदेशकी दीपा शाहीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छिन । साफका लागि उनको नाम आउँदा उनको जिल्ला हुम्लामा खुसियाली छाएको थियो ।
दीपा विभागीय टोली त्रिभुवन आर्मीकी खेलाडी हुन् । उनले चितवनमा भएको पहिलो चरणको राष्ट्रिय लिगमा पनि दुई गोल गरेकी थिइन् । रेनुका नगरकोटीले चोट बोकेकी हुनाले उनको पोजिसनमा दिपा फिट हुने अनुमान छ ।
पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउने अर्की खेलाडी हुन् समीक्षा घिमिरे । उनी पनि विभागीय टोलीबाट घरेलु प्रतियोगिता खेल्ने गर्छिन । समीक्षा रौतहट जिल्ला कि प्रतिभावान खेलाडी हुन् । नेपाललाई उमेर समूहमा प्रतिनिधित्व गरिसकेकी डिफेन्डर विभागीय टोली नेपाल पुलिस क्लबमा आबद्ध छिन् । एपीएफको दबदबा तोड्दै अप्रिलमा धनगढीमा भएको पहिलो महिला गोल्डकपको उपाधि पुलिसले जित्दा उनी महत्वपूर्ण सदस्य थिइन् ।
राष्ट्रिय टोलीको यसपटक नयाँ अनुहार अमिषा कार्की पनि हुन् । उनले पनि उमेर समूहबाटै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् । राष्ट्रिय लिगमा वालिङ नगरपालिकाबाट खेल्दै करियर सुरु गरेकी अमिषा पछि त्रिभुवन आर्मी फुटबल क्लबमा आबद्ध भईन । महिला लिगको पहिलो चरणमा अमिषाले चार गोल गरेकी थिइन् । १२ जना स्ट्राइकरहरुको प्रारम्भिक सूचीबाट अन्तत: उनी छनोट भएकी हुन् ।
नेपालले आफ्ना केहि अनुभवी खेलाडीलाई भने 'मिस' गर्नेछ । नियमित कप्तान रेनुका नगरकोटीसँगै प्रभावशाली डिफेन्डर पूजा राना पनि चोटले गर्दा यस पटकको साफमा हुने छैनन् । यद्दपी डिफेन्डर पुनम जर्घामगर, स्ट्राइकर सावित्रा भण्डारीले ‘कमब्याक’ गरेका छन् । जुन सन्तोषजनक पक्ष हो । यस्तै पछिल्लो २०१९ को साफमा डेब्यु गर्दै राम्रो प्रदर्शन गरेकी रेखा पौडेल पनि टोलीमा फर्किएकी छन । धनगढीमा पुलिस बिवाईसि कप च्याम्पियन बन्दा उनको लय सानदार थियो ।
नेपाली टिम -
गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा,अञ्जना रानामगर, उषा नाथ
डिफेन्डर : हिराकुमारी भुजेल, अमृता जैसी,गीता राना, पुनम जर्घामगर, निशा थोकर,समीक्षा घिमिरे, विमला विक
मिडफिल्डर : विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही,इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्ड : सावित्रा भण्डारी, अमिषा कार्की,रेखा पौडेल, रश्मिकुमारी घिसिङ
भारत -
फिफा वरीयतामा ५८ औं स्थानमा रहेको भारत साफका सबै संस्करणको विजेता हो । यस संस्करणको प्रमुख दाबेदार पनि भारत नै हो । सेप्टेम्बर ७ मा पाकिस्तानविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नु अघि भारत अहिले पुणेमा अभ्यास गरिरहेको छ ।
गत संस्करणको भारतीय महिला लिग मा 'इन्डियन एरो महिला टिम' को प्रशिक्षण हेरेका भारतको यू-२३ का प्रशिक्षक सुरेन क्षेत्रीलाई साफमा सिनियर महिला टोलि हेर्ने जिम्मा दिइएको छ । उनले साफ खेल्न आउने महिला टोलिमा पनि यू-२३ का धेरै खेलाडी छनोट गरेका छन् ।
भारतीय टोलीमा अहिले विराटनगरमा साफ खेलेका अन्जु तामाङ, स्वीटी देवि लगायतका खेलाडी बाँकी छन् । कोलकाता वुमन्स लिगमा एसएसबीलाई च्याम्पियन बनाएकी कप्तान डुलार मरान्दी पहिलो पटक राष्ट्रिय टोलीबाट साफ खेल्न नेपाल आउदै छिन् । इन्डियन वुमन्स लिगमा उनले ९ गोल गर्दै प्रतियोगितामा चौथो सर्वाधिक गोलकर्ता बनेकी थिइन्।
सिक्किम कि अन्जु तामाङ जसले विराटनगरमा नेपालविरुद्ध गोल गरेकी थिइन् उनी टोलीमा छिन । गोल किपर अदिति चौहान यू-२३ थ्री नेसन्स कपमा अमेरिका र स्विडेनविरुद्धको खेलबाट नै राम्रो लयमा छिन् । एरो प्रोजेक्टबाट आएकी सेट पिस स्पेसलिस्ट १८ वर्षीया प्रियङ्का देबी २०२१ को यू-१९ महिला च्याम्पियनसिपमा चार गोलका साथ भारतको शीर्ष गोलकर्ता थिइन् । प्रि-सिजनमा क्रोएसियाको पहिलो डिभिजन क्लब दिनामो जाग्रेबमा ट्रायलमा सामेल भैसकेकी सौम्या गुगुलोथलाई पनि नेपाल आउदै छिन् ।
युरोपियन महिला च्याम्पियन्स लिग खेलेर पछिल्लो समय सनसनी मच्चाइरहेकी 'पोस्टर गर्ल' मनिषा कल्याणको नाम भने टोलीमा छैन । यो राहत हुनेछ अन्य टोलीलाई । उनी नेपालमा भएको २०१९ साफ च्याम्पियनसिपमा भारतीय टिममा थिइन्। कल्याण टोलीकी कान्छो सदस्य थिइन् र प्रतियोगितामा एक गोल गरेकी थिईन ।
पाकिस्तान-
पाकिस्तान फिफा वरीयतामा छैन । पाकिस्तान आठ वर्षपछि अन्तराष्ट्रिय फुटबलमा फर्किएको हो । साफमा २०१० मा पाकिस्तानले सेमिफाइनल खेलेको थियो । पाकिस्तानलाई पहिलो खेलमा नै भारतको चुनौती छ । यसपटक उसले पाकिस्तानी मुलका केहि ओभरसिज खेलाडीलाई समेटेको छ ।
पाकिस्तानको नेतृत्व युएईकी मारिया खानले गर्नेछिन्, जो कप्तानको आर्मब्यान्ड लगाएर अन्तर्राष्ट्रिय डेब्यूका तयार छन् । उनी पाकिस्तानी मुलकी युएई बासिन्दा हुन् । ३१ वर्षीय गोलकिपर पछि गएर मिडफिल्डर बनेकी थिइन् । उनले केहि अघि पाकिस्तानी टोली 'देखाउनको लागि मात्र नेपालमा नगएको' र खेलाडीहरू वास्तवमै राम्रो प्रतिस्पर्धा गर्न तत्पर रहेको बताएकी थिइन् ।
यस्तै बेलायतमा बस्ने फुटबलर नाडीया खान राष्ट्रिय महिला फुटबल टोलीमा सामेल हुने अर्की विदेशी पाकिस्तानी बन्ने भएकी छिन् । नाडीया एफए महिला राष्ट्रिय लिग डिभिजन वन मिडल्याण्डमा डोनकास्टर रोभर्स बेल्सबाट खेल्ने गर्छिन।
पाकिस्तानले आठ वर्षअघि अन्तिम पटक अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो र विगत केही वर्षयता फुटबल गतिविधि ठप्प भएकाले टोलीलाई कठिनाइको सामना गर्नु परेको छ । पिएफएफले विदेशी खेलाडी बोलाएर छिटो समाधान खोजिरहेको बेला स्थानीय फुटबललाई ग्रासरुट लेभलमा फिक्सिङ गर्ने कुरालाई पनि दीर्घकालीन लक्ष्यका रूपमाहेरिरहेको छ ।
भुटान -
भुटान प्रतियोगिता सुरु हुनुभन्दा करिब २ हप्ता अगाडी नेपाल आइपुगेको पहिलो टोली हो । फिफा वरीयतामा १७६ स्थानमा रहेको भुटान पछिल्ला वर्षमा प्रगतिको बाटो उन्मुख छ । नेपालमा आएर त्रिभुवन आर्मीसँग अभ्यास खेल खेलेर ४-० जित पनि निकालेको छ ।
सन् २०१० मा आफ्नो पहिलो खेल खेलेको भुटान विश्वको कान्छो राष्ट्रिय टोली मध्ये एक हो । नेपाल आउनु अघि भुटानले फ्रेन्ड्स युनाइटेड एफसीको यू-१७ पुरुष टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो । पछिल्लो समय यदि कुनै टोलीले उमेर समूहमा राम्रो प्रदर्शन गरेको छ भने त्यो भुटान हो ।
महिला फुटबल टिमले गत वर्ष थिम्पुमा भएको दक्षिण एसियाली फुटबल महासंघ यू-१८ साफ च्याम्पियनसिपमा चर्चामा आएको थियो, जहाँ राष्ट्रिय महिला टोलीले माल्दिभ्सविरुद्ध १३-० को रोमाञ्चक जित हासिल गरेको थियो। त्यसै महिनाको सुरुमा यू–१५ च्याम्पियनसिपमा पनि यू–१५ महिला टोलीले श्रीलंकालाई ६–० ले हराएको थियो ।
बंगलादेश -
फिफा वरीयतामा १४७ स्थानमा रहेको बंगलादेश साफ महिला टोली मध्ये अहिले सबैभन्दा अप्रत्यासित टोलि बन्न सक्छ । उनीहरुको उत्कृष्ट प्रदर्शन दक्षिण एसियाली खेल २०१० मा कांस्य पदक र २०१६ को साफ महिला च्याम्पियनसिपमा दोश्रो बन्नु थियो । तर यसपटक बंगलादेशको महिला उपाधि जित्ने लक्ष्यका साथ नेपाल भ्रमणमा आउँदैछ ।
प्रतियोगिताका सबै इभेन्टमा सहभागी बंगलादेश टोलीकी कप्तान सबिना खातुन सबैभन्दा महत्वपूर्ण खेलाडी हुन् । अनुभवी स्ट्राइकरले अहिलेसम्म २२ गोल गरेकी छन् । जुनमा मलेसियाविरुद्ध घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको बंगलादेशको अघिल्लो टोलीबाट बाहिरिएका गोलकिपर साथी विश्वासलाई टोलीमा बोलाइएको छ ।
प्रतियोगिता अघि बंगलादेशले वार्मअप खेलका लागि धेरै देशलाई प्रस्ताव गरेको थियो तर युएईले अन्ततः दुई मैत्रीपूर्ण खेलमा सहभागी हुन मान्यो । तर अन्तमा, भएन । त्यसैले बंगलादेशको मलेसिया भ्रमणको अनुभवलाई नै आगामी प्रतियोगितामा उपयोग गर्नेछ । मारिया, मोनिका र सिनियर टोलीका अन्य धेरै खेलाडीहरूले धेरै समयअघि यू-१८ प्रतियोगिता खेलिरहेका थिए । उनीहरूले धेरै अन्तर्राष्ट्रिय अनुभव बटुलेका छन्, उनीहरूको शारीरिक रूपमा सुधार भएका छन् । फिफा वरियतामा बंगलादेशभन्दा अगाडि रहेको मलेसियालाई मैत्रीपूर्ण खेलमा पराजित गर्नु त्यो सुधारको प्रमाण थियो । गत भदौमा दशरथ रंगशालामा नेपालसँगको मैत्रीपूर्ण खेलमा बंगलादेशले उत्साहपूर्ण नतिजा निकालेको थियो ।
माल्दिभ्स -
फिफा वरीयतामा १५६ स्थानमा रहेको माल्दिभ्स टोली पहिलो पटक २००३ मा गठन भएको थियो । सन् २०१६ को साफमा सेमिफाइनल पुग्नु उनीहरुको ठुलो उपलब्धि हो ।
कप्तान तथा गोलकिपर अमिनाथ लिजा वर्षको उत्कृष्ट महिला फुटबलर घोषित भएकी थिइन् । उनी यस टोलीको प्रमुख खेलाडी हुन् । नुरा, थीबा, साहुला जस्ता खेलाडी थ्री नेसन्स कपमा चम्किएका थिए । युवा खेलाडी सुमा मोहम्मद एसिएल को अप्रेसन पछि टोलीमा पुनरागमन गर्दै छिन । माल्दिभ्स फुटबल संघले महिला खेलाडीको न्युट्रिशन र फिजिक्समा काम गरेको छ । महिला फुटबलमा बिस्तारै लक्ष्य हासिल गर्न लागिपरेको टिम हो माल्दिभ्स ।
श्रीलंका -
फिफा वरीयतामा १५३ स्थानमा रहेको श्रीलंका टोलीले दक्षिण एसियाली साफ महिला च्याम्पियनसिपका सबै संस्करण खेलेको छ । सन् २०१२ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो । बिराटनगर साफमा सेमिफाइनल पुगेको थियो । श्रीलंका २०१२ मा साफको दोस्रो संस्करणको आयोजक थियो ।
चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले साफ महिला च्याम्पियनसिपमा सहभागिताको तयारीका लागि श्रीलंका महिला राष्ट्रिय फुटबल टोलीका लागि आशाजनक महिला फुटबल खेलाडी छनोट गर्न ट्रायल गरेको थियो ।
यसपटक टोलिले विभागीय टोलीहरु एअर फोर्स, नेभी एससी, पुलिस र आर्मीबाट धेरै खेलाडी छनोट गरेको छ ।
चालनी एकनायके, प्रवीणा मदुकी परेरा, थुषानी मधुशिका, थिलिनी दिलहारा जयसिंघा जस्ता युवा खेलाडीहरु श्रीलंकाको लागि आशलाग्दा अनुहार हुन् ।