काठमाडौं । नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बने ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित गर्यो । आर्मीका आयुश सिंहले १९ अंक जोडे ।
पहिलो क्वाटरमा १०–८ को अग्रता लिएको आर्मी दोश्रोमा २५–२६ ले पछि पर्यो । बाँकी दुई क्वाटर आफ्नो पक्षमा पार्दै आर्मीले उपाधि सुनिश्चित गर्यो । आर्मीले तेश्रोमा २०–१३ र चौथोमा २२–१८ को प्रदर्शन गर्यो । उपाधिसंगै आर्मीले ५० हजार नगद पुरस्कार पायो भने रोयलले २५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।
महिलाको रोमाञ्चक उपाधि भिडन्तमा ललिपतुरले आयोजक नखिपोटलाई ३७–३५ को झीनो अन्तरले हरायो । ललितपुरकी अस्मिता थापाले १५ अंक जोडिन् ।
पहिलो क्वाटरमा ललितपुरले ९–८ को सामान्य अग्रता लियो । दोश्रो क्वाटरमा नखिपोटले ११–५ को अग्रता लिदै मध्यान्तरसम्म समग्रमा ५ अंकले अगाडि रह्यो । तेश्रो क्वाटरको खेलमा ललितपुरले १४–६ को प्रदर्शन गर्नु नै जितको मुख्य आधार बन्यो । चौथो क्वाटरमा नखिपोटले १०–९ को अग्रता हासिल गरेपनि समग्रमा २ अंकले उपाधि गुमायो । ललितपुरले ३० तथा नखिपोटले १५ हजार नगद पुरस्कार पाए ।
पुरुषमा आर्मीका आयुश सिंह तथा महिलामा ललितपुरकी अस्मिता थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही ५ हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्राप्त गरे ।
विजेतालाई प्रदेश सांसद राजकाजी महर्जन, नेपाल बास्केटबल संघका महासचिव नेरेन्द्र थापा, नखिपोट युथ क्लबका अध्यक्ष गंगा सुनवारलगायतले एक कार्यक्रमबीच पुस्कृत गरे । साताव्यापी प्रतियोगिताको पुरुषमा १२ तथा महिलामा ४ टिम सहभागी थिए ।