काठमाडौं । हुनत राष्ट्रिय फुटबल टोलीका मुख्य अब्दुल्लाह अलमुताईरीको स्वभाव मै हुँ भन्ने खालको छ ।
उनी कक्षा कोठाका त्यो चकचके विद्यार्थी हुन् जो पढाई लेखाईमा जेहेन्दार छ । जसले राम्रो नतिजाको लागि मन लगाएर पढ्छ । मेहनत गर्छ । तर बेला बेलामा नखरा देखाई रहन्छ । चकचक गरिरहन्छ । शिक्षकको प्यारो कसरी बन्ने त्यो राम्ररी थाहा छ तर कहिलेकाहीँ उसका हर्कतबाट शिक्षक,सहपाठी, अविभावक सबै दिक्क हुन्छन् । जतिनै मेहनती र जेहन्दार भएपनि अनुशासन छैन भने त्यो विद्यार्थीमाथि डन्डा चलाउन विद्यालय प्रशासन अन्तत: बाध्य हुन्छ ।
अलमुताईरी विद्यार्थी भने होइनन् । उनी त अहिले गुरुको भुमिकामा छन् । तर कहिलेकाहीँ उनको शैली र आनि बानीले उनी त्यो विद्यार्थीबाट माथि उठ्न सकेका छैनन् कि झैँ लाग्छ । व्यवहारिकतामा ।
खैर, उदाहरणलाई उदाहरणको रुपमै बुझौँ न ।
सायद त्यही मै हुँ भन्ने स्वभावले अलमुताईरीलाई अलिअति मात पनि चढेको होला । त्यहि मातले एउटा भ्रम सिर्जना गरिदिएको छ जुन बेलाबेलामा उनको घमण्ड बनेर प्रस्फुटित भईरहन्छ । उनी किन यस्ता छन् ? किन यस्तो गर्छन् उनको विशेषण उनलाई भन्दा अरुलाई धेरै थाहा नहोला तर नेपाली फुटबल जगतले उनलाई एक प्रशिक्षकको रुपमा मुल्यांकन गर्छ ।
भनिन्छ, उनको विषय मनोविज्ञान पनि हो । समर्थक, फुटबल विश्लेषक, खेलाडी,मिडिया, पदाधिकारी लगायत नेपाली फुटबलमा सरोकार राख्ने सबैको मनोविज्ञानलाई सुरुआत देखिनै उनले राम्रोसँग बुझ्दै आएका छन् । त्यसअनुसार नै आफ्नो रंग देखाइरहन्छन् । यो त राम्रो कुरा हो । यसमा त नेपाल धन्य छ । किनकि नेपालले उनी जस्तो सबैको मानसिकता बुझ्न सक्ने 'कला' भएको प्रशिक्षक पायो ।
तर दुर्भाग्यवश ! एक परिधिपछि त्यहि 'कला' जब 'चटक' मा रुपान्तरण भयो अलमुताईरीले आफ्नो 'चमक' गुमाउँदै गए । नेपाली फुटबलका सर्वप्रिय प्रशिक्षक 'सस्तो' देखिदै गए । एक समय आँखाको तारा बनेका उनी बिस्तारै बिझाउन थाले ।
उनको फुटबल सम्बन्धि ज्ञानमा प्रश्न गर्ने कुनै ठाउँ छैन । उनको प्रशिक्षणमा कुनै शंका छैन। उनी राम्रो स्तरको प्रशिक्षक हुन् । मैदानमा बनाईने रणनीति, प्रदर्शन गर्ने कौशलतामा उनी माहिर छन् । कन्जुस्याइँ नगरि भन्नुपर्दा नेपालले अहिलेसम्म पाएका उत्कृष्ट प्रशिक्षक हुन् अलमुताईरी।
तर, फुटबलमा मैदान भित्र मात्र नभई मैदान बाहिर पनि खेल चलिरहेको हुन्छ । यस्तो नेपालमा मात्र होइन विश्व भरि हुन्छ । यो खेलमा भने अलमुताईरी पूर्ण असफल रहे । किनकि मैदान बाहिरको खेलमा पनि उनी अनावश्यक छिरे । आफ्नो 'ट्याक्टिस' चलाउन खोजे । अनावश्यक जुन आवश्यक नै थिएन । यदि आफ्नो जिम्मेवारीको सिमा भित्र रहेर केवल प्रशिक्षणको धर्म निभाउँथे भने उनी विवादका प्रयाय बन्ने थिएनन् । 'व्यक्ति व्यवस्थापन' मा उनी नराम्रोसँग चुके । उनको 'वान टिम' को नाराले एकताको गठबन्धन धेरै दिन टिकाएन् ।
जुन परिवेशमा उनी आए अहिले धेरै कुरा बदलिसकेको छ । हिजो समय उनको अनुकुल थियो । तर आज छैन यो सत्य हो । उनले पनि यो कुरा राम्ररी बुझेका छन् । एन्फाको नयाँ नेतृत्व चयन हुँदाकै घटनाक्रमलाई उनले मजाले केलाईरहेका छन् । यति सम्मकी यो एन्फाको जग कमजोर भएको उनको विश्लेषण छ । त्यसका कारणहरु धेरै छन् । ती मध्ये एक हो आर्थिक ।
उनी के कुरामा विश्वस्त छन् भने, सम्झौता सकिनु पूर्व नै आफुलाई बर्खास्त गर्ने हैसियत एन्फाको छैन । एन्फा आर्थिक संकटबाट गुज्रिरहेको छ । पहिलो त उनी एन्फाको यहि कमजोरीमाथि प्रहार गर्दैछन् ।
नेपाली फुटबलको विकासको लागि भन्दै कतार फुटबलले एन्फालाई आफ्नै प्रयत्नमा यी कुवेतीलाई नेपालको प्रशिक्षकको जिम्मा दिएको छ । कारण: उनको स्तरको प्रशिक्षकलाई एन्फाले आफैले तलब दिन सक्दैन ।
यस्तो अवस्थामा एन्फाले अलमुताईरीलाई बर्खास्त गरेर अर्को प्रशिक्षक नियुक्त गर्न असम्भव नै देखिन्छ । कुनै कामचलाउ सस्तो खोजेछ भने अर्को कुरा । तर अलमुताईरी जस्ता अब्बल प्रशिक्षकबाट त नेपाली फुटबल अलिकति सुध्रिएको हो कि जस्तो मात्र देखिन्छ भने कामचलाउ ले झन कहाँ पुर्याउलान स्तर । यसैपनि आधुनिक फुटबलमा राष्ट्रिय टोलीमा 'प्रो लाइसेन्स होल्डर' प्रशिक्षक न्युनतम माग हो । त्यसैले अलमुताईरी एन्फाको यो विवशतासँग जानकार छन् ।
वर्तमान एन्फा नेतृत्वलाई अलमुताईरी 'निल्नु न ओकल्नु' भएका छन् । यो कसैबाट लुकेको छैन । हिजो अलमुताईरीसँग 'महासङ्ग्राम' लडेका पंकज नेम्वाङ एन्फाको अध्यक्ष छन् । हिजो अलमुताईरीलाई 'देख्दा पनि रिस उठ्छ' भन्ने धेरैजना आज पदाधिकारी छन् । पक्कै पनि उनीहरुलाई अलमुताईरी मन पर्दैनन् । तर के गर्नु बाध्यता छ हजुर !
यो बाध्यता बिघ्नै अप्ठ्यारो छ । नचाहँदा नचाहँदै पनि सहेर बस्नुको विकल्प छैन । नभए त छानविन समितिले दिएको प्रतिवदेनका आधारमा एन्फाले अहिलेसम्म अलमुताईरीलाई बर्खास्त गरिसकेको हुनुपर्ने ।
माथि भनेझैँ अलमुताईरी एन्फाको यहि बाध्यतालाई कमजोरी बनाएर आफु बलियो हुने प्रयासमा छन् । त्यसको उदघोस पनि उनले गरिसके । एन्फा कमजोर त यसै देखिन्छ उनको अगाडी । एन्फा महासचिव किरण राईले छानविन समितिले दिएको प्रतिवेदनका आधारमा अलमुताईरीको जवाफ मागेका थिए । राईको कुरा वास्ता नगरि अलमुताईरीले उल्टो मैत्रीपूर्ण खेलका लागि २६ खेलाडी बोलाउन एन्फालाई आग्रह गरेर इमेल पठाएको भन्ने समाचार आयो।
जब अलमुताईरीले यसबारेमा थाहा पाए उनी तातिए । विष्फोट भए। कुवेतको तातो रापले सात समुन्द्र वारि नेपालमा सातदोबाटो गल्यो। अलमुताईरीले आफुविरुद्ध गलत प्रचार भईरहेको र सम्झौता भएसम्म आफु नेपालको प्रशिक्षक रहने भन्दै विज्ञप्ति निकाले । उनले सम्झौता पालना नभए फिफा र एएफसीमा जाने धम्किपूर्ण अभिव्यक्ति दिए । त्यसको लागि वकिलसँग परामर्श गरिरहेको भने ।
एन्फाको स्रोतको नाममा आफ्नो झुटा समचार फैलाईरहेको उल्लेख गर्दै उक्त बदमासीविरुद्ध जाने बताए ।
एन्फाले दिएको जानकारी अनुसार स्पष्टीकरण मागेको त्यो इमेल उनीसम्म पुगेकै थिएन रे । त्यसो भए हावा नचलाएरै पात हल्लाई दिने, झुटा समाचार सन्चारमाध्यमलाई दिने व्यक्ति अलमुताईरीको भाषामा उक्त 'बदमास' व्यक्तिको तुरन्तै छानबिन हुनुपर्छ । यो गम्भीर विषय हो । हुनत अलमुताईरीले आफै पत्ता लगाउलान नि !
राष्ट्रिय टोलीबाट अलमुताईरीले निकालेका खेलाडीको विषयमा पनि एन्फा कमजोर पर्दैछ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले प्रशिक्षक विवादका कारण राष्ट्रिय टिमबाट निकालिएका सबै खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।
तर, अलमुताईरीले भने दुई जना खेलाडीको नाम मात्र सिफारिस गरेका छन् । अन्जन विष्ट र तेज तामाङ । अब हेर्न लायक हुनेछ । एन्फा आफ्नो निर्णयमा अडिग हुन सक्नेछ या अलमुताईरीले यहाँ पनि बाजि मार्नेछन् ।
अलमुताईरी चलाख छन् । उनी मिडियाका समाचार त 'ट्रान्सलेट' गरेर पढ्छन् । आफ्नो आलोचना गरेर लेखेका पत्रकारलाई, समर्थकलाई फेसबुकमा अन्फ्रेन्ड सम्म गर्छन् । नराम्रो भन्यो कि अन्फ्रेन्ड या ब्लक । त्यसैले माथि उनलाई 'बिद्यार्थी' सँग तुलना गरिएको हो । उनी जस्तो व्यवसायीक र ठुलो दर्जाको प्रशिक्षकले गर्ने व्यवहार त्यो होइन।
तर जे होस् उनी आफुलाई राम्रो भनेको मात्रै सुन्न चाहन्छन् भने पनि यसमा कसैलाई आपत्ति हुनु भएन । एक समय उनलाई 'भगवान' पनि त बनाइएकै हो । उनको देवत्वकरण गरिएकै हो । त्यसैले सायद उनलाई आफ्नो बारेमा राम्रो सुन्ने बानी बसेको होला ।
उनले समाचार ट्रान्सलेट गरेरै एन्फामा देखिरहेको अस्थिरतालाई राम्ररी अध्ययन गरिसके । कसको शक्ति कति यो बुझिसके । त्यसैले उनी जानाजान अहिले एन्फासँग निहुँ खोज्ने मुडमा पनि देखिन्छन् । यस्तो लाग्छ उनी आफै 'मलाई बर्खास्त गर' भन्दै उक्साइरहेका छन् । यसमा उनलाई एन्फा भित्रकै पक्ष र विपक्षीले गर्दा धेरै फाइदा पुगेको छ ।
एन्फाको रणनीति के हुन सक्छ ? अलमुताईरीलाई नचलाएरै अगाडी बढ्नमा आफ्नो भलाई देख्छ । यसो हेर्दा समयको प्रतिकुलतालाई ध्यान दिएको देखिन्छ । यो अस्थिरतामा फेरि अलमुताईरीलाई बर्खास्त गरेर थप झमेला ल्याउन चाहन्न । उनले कानुनी भाषा बोलेपछि झनै एक कदम पछाडी हट्नमै बुद्धिमानी देख्छ । तर एन्फालाई छानबिन समितिको प्रतिवेदन, निकालेका खेलाडीलाई टोलिमा फर्काउने बचन आदिलाई नजरअन्दाज गरेर हिँड्न पनि अप्ठ्यारो छ ।
फुटबल-विवाद-अलमुताईरी यो 'ट्राएङ्गलर लभ स्टोरी' को क्लाइमेक्समा निश्चय नै एन्फाको भूमिका सबैभन्दा महत्वपूर्ण हुनेछ । के थाहा, क्लाइमेक्स एन्फाको अब बस्ने बैठक बन्ने हो कि । जे होस् अहिलेसम्म यो कथामा नायक पनि खलनायक पनि जे भनेपनि अलमुताईरी छन् । यद्दपी यो प्रश्न यथावत नै छ कि, कहानीको 'द एन्ड' दर्शकलाई चित्त बुझ्छ या बुझ्दैन !