‘नेयमार फिट भए समस्या छैन’

काठमाडौं। बायाँ खुट्टाको चोटका कारण सन् २०२३ को अक्टोबरयता ब्राजिलको जर्सीमा नदेखिएका नेयमार अझै राष्ट्रिय टोलीमा फर्कन सकेका छैनन्।
ब्राजिलको इतिहासमै सर्वाधिक ७९ गोल गरेका नेयमार यसबीच आफ्नै बाल्यकालको क्लब सान्तोसबाट पुनरागमन गरेका थिए। तर, प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा अहिलेसम्म ब्राजिलको टोलीमा स्थान पाएका छैनन्।
एन्सेलोको नेतृत्वमा गत मार्चदेखि खेलेका ६ वटा विश्वकप छनोट खेलमा पनि चोटका कारण नेयमार बाहिरै रहनुपर्यो। सेप्टेम्बरमा सम्पन्न दुई खेलको स्क्वाडमा समेत उनको नाम थिएन। नेयमारले आफूलाई ‘टेक्निकल कारण’ ले बाहिर राखिएको दाबी गरे पनि एन्सेलोले त्यसलाई अस्वीकार गर्दै स्पष्ट रूपमा भनेका छन्- टोलीमा स्थान पाउन फिटनेस नै निर्णायक हुन्छ।
हालै इएसपिएन ब्राजिलसँग कुरा गर्दै एन्सेलोले भने,‘नेयमारको प्रतिभा कसैले शंका गर्दैन। तर, आधुनिक फुटबलमा त्यो प्रतिभा उपयोग गर्न शारीरिक रूपमा फिट हुनु जरुरी छ। उनी पूर्ण रूपमा फिट भए राष्ट्रिय टोलीमा फर्कन कुनै समस्या छैन।’
उनले आगामी विश्वकपमा नेयमारले ब्राजिलको लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास पनि व्यक्त गरे। ‘तयारीका लागि अझै समय छ मैले उनलाई भनेको छु। राम्रो तयारी गरेर विश्वकपमा जाउँ, र त्यहाँ टोलीलाई उत्कृष्ट अवस्थामा पुर्याउन मद्दत गर,’ एन्सेलोटीले थपे।
नेयमार प्रायः विङरको भूमिकामा खेल्ने गर्छन्। तर, एन्सेलोटीको दृष्टिमा उनी ‘एटाकिङ मिडफिल्डर’ वा ‘सेन्ट्रल स्ट्राइकर’ पोजिसनमा अझै उपयोगी बन्न सक्छन्। तर, त्यसका लागि आवश्यक शारीरिक क्षमतामा सुधार गर्नुपर्ने उनको सुझाव छ।
ब्राजिलले गत जुनमै विश्वकपको मुख्य चरणमा स्थान सुरक्षित गरिसकेको छ। त्यसपछि सेप्टेम्बरमा चिलीविरुद्ध ३–० को जित निकाल्दा बोलिभियासँग भने ०–१ ले हार बेहोरेको थियो। अब बाँकी तयारीका लागि केही मैत्रीपूर्ण खेल हुनेछन्, जसमा मौका पाए नेयमारले राष्ट्रिय टोलीमा पुनरागमन गर्न सक्नेछन्।
यसैबीच, प्रशिक्षक एन्सेलोटीको भविष्यबारे पनि चर्चा सुरु भएको छ। उनले एक वर्षका लागि मात्रै ब्राजिलसँग सम्झौता गरेका छन्। तर, उनले संकेत गरेका छन्, ब्राजिल फुटबल महासंघ (सीबीएफ) चाहन्छ भने आफू २०३० को विश्वकपसम्म पनि रहन तयार छन्।
‘म यहाँ खुसी छु, मेरो परिवार पनि खुसी छ। विस्तारको कुरा गर्न समय छ, तर म ब्राजिलसँग दीर्घकालीन रूपमा पनि काम गर्न तयार छु,’ उनले भने।