एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

काठमाडौं। अर्जेन्टिनी सुपरस्टार लिओनल मेसी एक साताको विश्रामपछि पुनः इन्टर मियामीको प्रशिक्षणमा फर्किएका छन्। तर, उरुग्वेली स्ट्राइकर लुइस सुआरेज भने निलम्बनका कारण क्लबको आगामी खेलमा मैदानमा देखिने छैनन्।
करिअरभरि चोटपटकबाट जोगिएका मेसी मियामी आएदेखि लगातार शारीरिक समस्याले हैरान छन्। प्रायः एक खेल खेलेपछि अर्को दुई खेल छाड्नुपर्ने अवस्था आएको छ। तर, अघिल्लो हप्तादेखि पाएको विश्रामपछि उनी अब पूर्ण रूपमा तयार देखिएका छन्।
प्रशिक्षणमै समर्थकसामू आफ्नो जादुई कौशल प्रस्तुत गर्दै उनले पुनरागमनको सन्देश दिएका छन्। मियामीका प्रशिक्षक म्यास्चरानोले भने,‘लिओनल स्कालोनीसँग छलफल गरेरै हामीले इक्वेडरविरुद्ध मेसीलाई नखेलाउने निर्णय गरेका थियौं। स–साना चोट निको होस् भनेर पूरा हप्ता आराम दिइयो। अहिले अभ्यासमा हेर्दा उनी निकै फुर्तिला छन्। खेलका लागि उनी पूर्ण रूपमा तयार देखिन्छन्।’
यसैबीच, प्रशिक्षणमा सहभागी भए पनि सुआरेज भने निलम्बनकै कारण खेल्न पाउने छैनन्। लिग्स कप फाइनलमा प्रतिद्वन्द्वी खेलाडीसँग विवादमा जाँदा थुकेको घटनापछि उनलाई तीन खेलको प्रतिबन्ध लगाइएको हो। न त क्लबले, न त सुआरेज स्वयंले सजाय घटाउने अपिल गरेका छन्।
सुआरेजबारे म्यास्चरानोले भने,‘उसले गल्ती स्वीकार गरिसकेको छ र माफी पनि मागिसकेको छ। त्यसैले यो विषयमा थप कुरा गर्नुपर्ने देख्दिनँ।’
चालु सिजनमा मेसीले मियामीका लागि १९ गोल र ८ असिस्ट गरेका छन्। अब इस्टर्न कन्फरेन्समा चार्लोट एफसीविरुद्ध हुने खेलमा उनको पुनरागमनप्रति विशेष ध्यान केन्द्रित गरिएको छ।