काठमाडौं । अरहान्त केशर सिम्हा र अमृत थापा मगरले चौंथो संस्करणको धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन् ।
सातदोबाटोस्थित स्क्वास कोर्टमा शुक्रबार भएको पुरुष खुल्लातर्फको सेमिफाइनलमा अरहान्तले अमिर ब्लोनलाई ३-० ले पराजित गरे ।
अर्को सेमिफाइनलमा अमृतले दीपक थापालाई ३-० ले नै हराएर अरहान्तसँगको भेट पक्का गरे ।
महिला एकलतर्फ विपना ब्लोन र कृष्णा थापाले फाइनलमा स्थान बनाएका छन् ।
विपनाले उदयमान खेलाडी स्वस्थानी श्रेष्ठलाई ३-० ले हराईन् ।
यस्तै कृष्णाले भावना सुनुवारलाई ३-० ले नै हराएर फाइनलमा स्थान पक्का गरिन् ।
प्लेटतर्फ प्रज्वल प्रकाश प्रधानले धिर पुनलाई ३-१ ले र सुदिप बहादुर सिंहले दिलिप अधिकारीलाई ३-० ले हराएर फाइनलमा स्थान पक्का गरे ।
त्यस्तै ब्वाइज यू-१९ तर्फ विकास मगरले पासाङ लामालाई ३-१ ले हराएर फाइनलमा स्थान बनाए । यसै विधामा गोपाल थापाले सलिम थापा मगरलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरे ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रोले ९/९ हजार पाउने छन् ।
महिलातर्फ विजेताले १८ हजार, उपविजेताले ११ र तेस्रोले ७/७ हजार पाउने छन् ।
यस्तै जुनियरतर्फ विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रोले ४/४ हजार पाउने छन् ।