'प्रत्येक जिल्ला पुगेर फुटबलको अवस्था बुझ्न आवश्यक छ'

समिर ओली
काठमाडौं । एन्फामा नयाँ नेतृत्व आएसँगै नेपाली फुटबलको विकासमा थुप्रै आशाहरु पलाएका छन् । लामो समयको संघर्ष र अनुभवले परिपक्व नयाँ नेतृत्वलाई चुनौती पनि उत्तिकै छ । बाहिर समाचारमा आए जस्तो गुटबन्दीले गर्दा अहिले नै यो नेतृत्व असफल भईहाल्छ कि भन्ने अनुमान लगाउनु गलत हो।
अहिलेको नेतृत्वलाई काम गर्न धेरै थोरै असहज त पक्कै हुने नै छ। तर,जति हामीले बाहिर बसेर आकलन गरेको हुन्छौं त्यो भन्दा धेरै फरक स्थिति हुन्छ ।
हामी नेपालीहरुको एउटा बानी नै बसिसक्यो कसैले राम्रो काम गर्न थाल्यो भने खुट्टा तान्ने प्रवृत्ति छ । परिवर्तन र सुधार एकैछिनमा भन्दा बित्तिकै स्वीच बटन डबाएर अन अफ गरे जस्तो सजिलो गरेर हुने कुरा होईन ।
निति नियममा रहेर पहिलेका कमीकमजोरीहरु लाई औलाएर दीर्घकालीन समाधानका लागि योजना बनाउनुपर्छ। किन यतिका समय सम्म पनि नेपाली फुटबलको विकास यति सुस्त छ गम्भीर रुपमा सोच्न आवश्यक छ ।
खाली जिल्लामा एउटा प्रशिक्षकको भरमा मात्र नयाँ खेलाडीको उत्पादनको आशा गर्यो भने फेरि त्यो पुरानै नेतृत्वले गरेकै शैली र पहिलेको अवस्था भन्दा केहि परिवर्तन आउनेवाला छैन । उमेर समूहको खेलाडी छनोट प्रक्रियामा लाई नै उदाहरण मानेर हेर्यो भने मात्र पनि प्रष्ट हुन्छ ।
देश संघीयता गएको धेरै समय भइसक्यो अहिले हरेक प्रदेशमा तदर्थ समिति भए पनि फुटबल संघहरु गठन छन् । उनीहरुलाई जिम्मेवारी दिन सक्नु पर्यो ।
एउटा पूर्व झापाको खेलाडी काठमाडौं गएर आफ्नै खर्चमा छनोटको लागि सहभागी हुनुपर्ने अर्को पश्चिम कञ्चनपुरको खेलाडी काठमाडौं मै पुग्नु पर्ने कस्तो विडम्बना ? कमसेकम पहिलो अथवा दोस्रो राउन्डसम्म आफ्नै प्रदेशमा छनोट गर्न पाएको भएपनि खेलाडीलाई धेरै राहत मिल्ने थियो ।
खैर, आशा गरौ आगामी दिनहरूमा यो विषयमा सम्बन्धित जिम्मेवार नेतृत्वले पक्कै सुधार गर्नेछ । एन्फा नेतृत्वले जिम्मेवारी सम्हालेको धेरै समय नभएता पनि एकदुई वटा विवादास्पद निर्णयले गर्दा आलोचनाहरु सहनु परिरहेको छ। सकेसम्म सुझबुझ र सबैको सरसल्लाहले नआतिएर सामुहिक निर्णय गर्नु नै सफल नेतृत्वको कर्तव्य हो।
चुनावको बेलामा जिल्ला भ्रमण गरेर भोट मागे जस्तै प्रत्येक जिल्लामा पुगेर फुटबलको अवस्थाको बारेमा बुझ्न आवश्यक छ । र, प्राविधिक कारण देखाएर प्रदेशको निर्वाचन सार्नुलाई सकारात्मक रुपमा कसैले लिदैनन्। तसर्थ यथाशीघ्र प्रदेशको निर्वाचन गराई सम्पूर्ण जिल्लालाई प्रदेशले नेतृत्व गर्ने अधिकार दिई केन्द्रले समन्यकारी भुमिका निर्वाह गरोस् ।
सम्पूर्ण प्रशिक्षक, रेफ्रि लगायत लाई निगरानीमा राखी उनिहरुको फिटनेस परिक्षा नियमित गरियोस् । सम्पूर्ण नेपालको नै फुटबल विकास गर्न जिम्मेवारी पाएको संस्थाले छुटेका जिल्लाहरु लाई समेटेर प्रक्रियागत रुपमा जिल्लालाई एन्फामा आबद्ध गराउन कदम चालोस । हाल ७७ जिल्ला मध्ये ४७ जिल्ला मात्र एन्फामा आबद्ध छन् ।
वर्षमा एउटा दुईवटा मात्र घरेलु लिग गराएर खेलमा नै जीवन समर्पण गरेका खेलाडीहरु लाई बेरोजगार बनाई विदेशीन बाध्य नबनाईयोस।खेल कै दौरानमा चोट खेपेका खेलाडीहरू तथा रेफ्रिले आफ्नै व्यक्तिगत खर्चमा उपचार गराएका दुखद समाचार हरु कहिले सुन्न नपरोस् ।
सम्पूर्ण नयाँ नेतृत्वलाई हार्दिक बधाई तथा बौद्धिक ,रणनीतिक योजना सहित सफल कार्यकालको शुभकामना ।
- लेखक ओली लुम्बिनी प्रदेश फुटबल संघका सह महासचिव हुन् ।






%20(2)-1761961917188.png&w=3840&q=75)
%20(1)-1761905198112.png&w=3840&q=75)


-1773311294894.jpg&w=3840&q=75)



-1744388693-1773245134485.avif&w=3840&q=75)

-1773230362276.jpg&w=3840&q=75)