भुवनेश्वर । धन्न भारत छ र बेला बेलामा नेपाली फुटबललाई झक्झकाई दिन्छ । यदि भारत नभएको भए नेपाली फुटबलको महत्व पनि यति बढ्ने थिएन होला । नत्र त जित्ने बेलामा बधाई दिन हतारिने हातहरुको अगाडी हाम्रो वास्तविकता सँधै ओझेलमा पर्ने थियो ।
दक्षिण एसियाली फुटबलमा हामीले सँधै भारतलाई तगारो मानिरह्यौँ तर सबैभन्दा ठूलो पाठ हामीलाई उसैले पढाउछ । हामीलाई प्रेरित गर्छ अगाडी बढ भनेर । कति सँधै 'गोर्खाली हौँ' भन्दै भावनामा मात्र बग्छौ ? अब साँच्चै 'वीर गोर्खाली' बन, प्रगति गर फुटबलमा हामीले जस्तै । धेरै केही नगरेपनि हाम्रै अनुसार योजनावद्ध रुपमा फुटबल अगाडी बढाउने आँट त गर । कहिलेसम्म हामीलाई गाली गर्दै आफ्नो कमजोरी छोप्छौ ?
यो दुर्दशाको इतिहास लामो छ । वर्तमान युवा टोली त यसको एक उदाहरण मात्र बन्नेछ । भारतलाई जित्न मात्र संघर्ष गर्नुपर्ने भए के अर्थ यति ठुलो फुटबल सत्ताको । के अर्थ एन्फाको राजनितिक शक्तिको ?
'खेल जित्नु सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । राम्रो अन्तरले जित्दा खेलाडीहरूलाई उनीहरूले प्रतिद्वन्द्वी रक्षालाई तोड्न सक्छन् भन्ने विश्वास दिन्छ। मलाई आशा छ कि हामी अर्को खेलमा पनि यस्तै मानसिकता बोक्न सक्छौं,' भारत यू-२० का प्रशिक्षक भेन्कटेश शनमुगमले श्रीलंकाविरुद्धको खेल पछि भनेका थिए, 'यो पहिलो जित मात्र हो। श्रीलंकाविरुद्धको प्रदर्शन राम्रो थियो । तर अब हामीले नेपालसँगको खेलमा ध्यान केन्द्रित गर्नुपर्छ ।'
भारत यू-२० टोलीले घरेलु स्तरमा हिरो आई-लीग र आइएफए शिल्डमा विगत दुई सिजनमा लगातार प्रतिस्पर्धा गरेको छ । जसमा यू-२० का अधिकांश खेलाडीहरू भारतीय एरोबाट ड्राफ्ट गरिएका छन्। बलियो शारीरिक क्षमता बोकेका खेलाडीहरु पहिलो खेलमा बंगलादेशसँग हतास देखिए । खेल गुमाए । शनमुगम स्तब्ध थिए । श्रीलङकामाथिको जित भारतलाई राहत थियो ।
सायद नेपाली टोलीको अपेक्षा पनि यहिँ थियो । बंगलादेशले सक्छ भने हामीले पनि सक्छौँ । यो विचार गलत होइन । एउटा भर्खरै तयार पारिएको युवा टोली जसले ठुलो स्तरमा फुटबलको दर्शनसम्म पनि पाएको छैन, त्यस्तो टोलीले एकाएक उपमहाद्वीप स्तरको प्रतियोगितामा खेल्दा यस्तै आत्मविश्वास राखेको हुनुपर्छ ।
तर, वास्तविकता फरक थियो । अहिलेको बंगलादेशपनि हाम्रो स्तरभन्दा निकै माथि पुगिसकेको छ । नेपाली फुटबलले यो तितो सत्यलाई जति चाँडो बुझ्छ त्यतिनै राम्रो । किनकि फुटबल भावनाले मात्र खेलिदैन । फुटबलमा अन्य राष्ट्रले योजनावद्ध प्रगति गरिरहेका छन् । दक्षिण एसियाली फुटबलको प्रशासनिक क्षेत्रमा आमुल परिवर्तन आइसक्यो । जारी यू- २० साफमा भारतलाई पराजित गर्ने बंगलादेशको टोली पनि बिएफएफको एलिट एकेडेमीबाट उत्पादित टोली हो । जसले बंगलादेशमा वर्षैभरि रिजर्भ च्याम्पियन्स लिग खेल्छ । पछिल्लो समय उनीहरुको शारिरिक वनावट विकासको लागि बिएफएफले विज्ञानमा लगानी गरिरहेको छ । अब त्यही फेरिएको बंगलादेशलाई जित्नैपर्ने दबावमा नेपाल छ । त्यो पनि ठुलो अन्तरमा ।
प्रशिक्षक भेन्कटेशले भनेझैँ भारतीय टोलीले नेपालविरुद्ध सामान्य जित मात्र हेरेको थिएन ठुलो अन्तरमा जित हेरेको थियो । र, उसले त्यो प्राप्त पनि गर्यो ।
खेल विश्लेषण :
आक्रमणमा छोटो छोटो फेरबदल र एकरुपताले डिफेन्डिङ च्याम्पियन भारत कलिंगा स्टेडियममा नेपालविरुद्ध ८-० को फराकिलो जित दर्ता गर्न सफल रह्यो ।
भारतको बलमाथि कब्जा र वर्चस्व खेल अवधिभर थियो । शान्मुगम भेन्कटेशले आक्रमणमा सुरुवात देखिनै रहन टोलीलाई निर्देशन दिए। ३२ औं मिनेटमा स्मार्ट टाइसनले पाएको उपहार सदुपयोग गरे । त्यसबेलासम्म भारतलाई विफल पारिरहेका नेपालका गोलकिपर ईश्वरले बायाँबाट महेसन सिंहको क्रसलाई नियन्त्रणमा राख्न सकेनन् । टाइसनले स्मार्ट हेडरबाट गोलको खाता खोले ।
पहिलो हाफमा भारतलाई १-० मा रोक्न नेपालको डिफेन्स सफल थियो । दोश्रो हाफको पाँच मिनेटपछि अग्रता दोब्बर भयो । भारतका हिमान्शु जाङग्रा नेपाली डिफेन्सको पोजिसनलाई फेइन्ट गर्दै बक्सभित्र पसे । पार्थिवको लागि सेटअप राखे र गोल भयो । तेस्रो गोल, करिब दुई मिनेट पछि भयो । जाङ्ग्राले यसपटक दुई डिफेन्डरहरूको बीचबाट बल सप्लाई गरे । पार्थिवले यसलाई पछ्याउँदै क्लिनिकल फिनिशको लागि ईश्वरमाथि सजिलो लब गरे । ६६ औं मिनेटमा टाइसनले रिबाउन्डमा गोल गर्दै आफ्नो दोस्रो गोल गरेका थिए ।
त्यसको चार मिनेटपछि पार्थिवलाई बक्सभित्र नेपाली खेलाडीले लडाए । र रेफ्रीले सोझै स्पटतर्फ औंल्याएपछि जाङ्ग्राले पेनाल्टीमा खुसीसाथ गोल गर्दै ५–० को अग्रता बनाए । त्यसको आठ मिनेटपछि भिविन मोहननको क्रसमा ६–० को बराबरी भयो जसलाई सब्स्टिच्युट टंकधर बागले ट्याप इन गरे । ८९औं मिनेटमा सब्स्टिच्युट गुरकिरतले गोल गर्दै भारतलाई ७–० को अग्रता दिलाएका थिए । अन्तिममा शुभ पलले थपिएको समयमा टंकधरको क्रसमा राउट ट्यापिङ पूरा गरे । र ८-० को जित भारतलाई दिलाए ।
स्कोरसिटमा उस्तै अनुहारहरू थिए जसमा हिमांशु जांग्रा, गुरकिरत सिंह र पार्थिव गोगोई सबैले श्रीलंकाविरुद्धको अन्तिम आउटजस्तै नेट फेला पारेका थिए । गोगोई र टाइसन सिंह लोइङ्तोम्बमले एक-एक गोल गरे भने वैकल्पिक खेलाडी शुभो पलले खेलको अन्तिम समयमा आठौं गोल गरे ।
नेपालले खेलभर कुनै पनि वास्तविक अवसर सिर्जना गर्न सकेन । उनीहरुको संघर्ष हेर्दा अगाडीका दुई प्रभावशाली जित निकाल्ने टोली जस्तो देखिएन ।
अघिल्लो खेलमा लगातार दोश्रो हाफमा आएर गोल गरिरहेका मनग्य नकर्मीलाई नेपालले भारतविरुद्ध सुरुवातमै मौका दिएको थियो । उनलाई वाइड विङ्गमा राखेर कृतिस रत्नलाई सेन्टरबाट अपरेट गर्ने नेपालको योजना थियो । किनकी कृतिस क्रियटिभ मिडफिल्डर हुन् । नेपालको यो रणनीति सफल भएन । मनग्य हराए नत कृतिसले नै सेन्टरबाट कुनै इम्प्याक्ट राख्न सके ।
फरवार्डमा बेला बेला रन बनाईरहेका सुगमले पनि चाहिने जति भारतिय ब्याकलाइनलाई पेनिट्रेट गर्न सकेनन् । खेल अवधिभर प्राय सोलो स्ट्राइकर भएर खेले । उनलाई थप स्पेस दिन बिचमा आयुस घलानले साइड स्विच गरे । तुलनात्मक रूपमा नेपालले भारतको दाँयातिरबाट केहि मुभहरु बनाइरहेको थियो । धेरै क्षेणमा सुमित श्रेष्ठ भारतीय डिफेन्स लाई बिट गर्न सफल भएका थिए । आयुस त्यता पुगेपछि नेपालले २/३ वटा अवसर पनि बनायो तर फिनिश गर्न सकेन ।
डिफेन्सिभ मिड र डिफेन्स लाइनले सम्हालिने मौका नै पाएन । न त तालमेल मिलाउन सक्यो । प्रतियोगितामा अहिलेसम्म नेपालले ७ गोल गर्दा कुनै गोल कन्सिड गरेको थिएन । एकै खेलमा भारतविरुद्ध ८ गोल बेहोर्यो । नेपाली डिफेन्स पुर्णतया एक्सपोज भयो । म्यान मार्किङ र फरवार्डको स्पेस कभरिङ गर्नमा चुक्यो । भारतले यहि कमजोरी बुझेर वाइड बाट एकपछि अर्को दबाब बनायो । ठुलो स्तरमा कत्ति अनुभव नभएको नेपाली डिफेन्स अजय चौधरी अलिकति घाइते भएपछि झनै पीडित बन्यो ।
नेपाली टोलीका सहायक प्रशिक्षक बाल गोपाल साहुखलले पत्रकार सम्मेलनमा तत्काल प्रतिक्रिया दिए,'जब टिम जितिरहेको हुन्छ कमजोरी त्यति देखिदैन। तर एउटा हारले धेरै कमजोरी दर्शाउँछ । यो फुटबल हो । हो हामीले यति ठुलो अन्तरको हार स्विकार गर्न सक्दैनौँ तर यो वास्तविकता हो । आजको खेलले हाम्रो 'ग्राउन्ड रियालिटी' देखाएको छ । हाम्रो युवा खेलाडीसँग अनुभव छैन उनिहरुले दवाव थेग्न सकेनन् । दक्षिण एसियाकै उत्कृष्ट टोलीविरुद्ध हामिले सक्ने गर्यौँ । तर यहि वास्तविकता हो । फेरि हामीले शिर उच्च बनाउँदै अगाडी बढ्नुपर्छ। खेलाडी निराश हुनु स्वभाविक हो तर यो बिर्सिएर बंगलादेशको बारेमा सोच्नुपर्छ।'