भुवनेश्वर । नेपाली फुटबलको भविष्य कस्तो छ ? यो देख्न दुई वर्ष भन्दा बढी समय पर्खनु पर्यो ।
कोरोना भाइरसको महामारीका कारण सन् २०१८ यता दक्षिण एसियाली क्षेत्रमा उमेर समूहका कुनै प्रतियोगिता हुन सकेन । नेपालको उमेर समूहमा अबको टोली कस्तो बन्ला ? यो उत्सुकता आम फुटबलकर्मीमा रहेको थियो । सबैकुरा स्वभाविक हिसाबले जान्छ भने कुनैपनि देशको उमेर समूहको टोलीनै भविष्यमा राष्ट्रिय टोली बन्ने हो ।
अहिलेको २० वर्ष मुनीको नेपाली टोली भविष्यको सिनियर राष्ट्रिय टिम हो । जसले नेपालको आगामी फुटबल यात्राको कथा लेख्नेछ । भविष्यमा नेपाली फुटबलको स्वरूप कस्तो होला ? स्तर के होला ? प्रदर्शन कस्तो रहला ? यो टोली तिनै सारा प्रश्नको उत्तर पनि हो ।
माल्दिभ्सविरुद्ध कालिंगा रंगशालामा उत्रदा धेरैजना खेलाडीले यस्तो मैदानमा पहिलो पटक खेलिरहेका थिए । माल्दिभ्स घरेलु लिगमा ब्यस्त खेलाडी समेटेर भारतको भुवनेश्वर आएको थियो । सुरुआती क्षणमा नेपालको युवा र नयाँ टिम केही 'नर्भस' देखियो । बिस्तारै पोजिसनमा बसेर खेल्दै जाँदा राम्रोसँग 'सेटल' भयो । जब दिपेश गुरुङले ३५ यार्ड टाढाबाट 'रकेट लन्च' गरे, त्यसपछि यो टोलीको गतिलाई रोक्न माल्दिभ्सले सकेन ।
बाँकी समयको खेल नेपाली टोलीले कब्जामा राख्यो । पहिलो जित महत्वपूर्ण हुन्छ, हरेक प्रतियोगितामा । नेपाल यो जितको हकदार थियो । नेपाली टोलीले कप्तानको जन्मदिन सम्झनलायक बनायो । स्वयम आयुश घलानकै लागि जीवनको अमुल्य जन्मदिनको उपहार यहि जित हुनेछ ।
उमेर समूहमा २० वर्ष मुनीको राष्ट्रिय टोलीको निर्माण गर्न यसपटक चुनौती थियो । कोरोना महामारीले नराम्रोसँग बिथोलेको नेपाली फुटबलमा नयाँ पुस्ताका खेलाडी उत्पादन भइरहेका थिएनन् । कारण एन्फासँग कुनै ठोस योजना र कार्यक्रमनै थिएन । देशमा अधिकांश ठुला फुटबलर भविष्य छैन भन्दै बिदेश उडिरहेको बेला फुटबल खेलाडी बन्छु भन्दै कुन चाही युवाले भकुण्डो समात्ला त ?
उसलाई फुटबलर बनेपछि यस्तो हुन्छ भनेर विश्वस्त पार्ने आधार पनि त केही छैन । एन्फाभित्रको राजनीतिक दुर्दशा अर्को मुख्य चुनौती छ ।
यो बागडोर सम्हाल्न आइपुगे घरेलु फुटबलमा सबैभन्दा रुचाइएका प्रशिक्षक मेघराज केसी । मेघराज स्वभावलेनै यस्ता चुनौती मन पराउने प्रशिक्षक हुन् । उनले आफुलाई प्रमाणित पनि गरेका छन् । नेपाली फुटबलको बजारमा मेघराज यस्तो पात्र हुन्, जसलाई सबैले सम्मान गर्छन्, माया गर्छन् र विश्वास पनि । दुई दशक भन्दा बढिको फुटबल जीवनमा मेघराजले कति जिते, कति हारे, त्यो हिसाब किताबको फरक पाटो भयो । तर तथ्य के हो भन्दा उनी नेपाली फुटबलका एक प्रभावशाली व्यक्तित्व हुन् । उनले कामले आफुलाई सिद्ध गरेका छन् ।
समग्रमा फुटबल प्रतियोगिताकै खडेरी पर्ने नेपाल जस्तो देशमा उमेर समूहमा प्रतियोगिता खोज्नु त मुर्खतानै होला । त्यसमा पनि जब कोरोना आयो, अनि बाँकी के रहन्थ्यो र । टाक टुके लिग र केही सिमित मोफसलका प्रतियोगिताबाट १९÷२० वर्ष मुनीका स्तरीय खेलाडी खोज्नु पक्कै सहज काम हैन ।
उमेर समूहमा नेपाली टोलीलाई बिगतमा पनि सम्हालेका मेघराजले यसपटक संकल्प लिए, नेपाली फुटबलको भविष्यको परिक्षा म दिन्छु । प्रशिक्षण टोलीमा धेरै दिमाग लगाएर, सोच बिचार गरेर सहायक प्रशिक्षकको छनोट गरे । बाल गोपाल साहुखल, उज्ज्वल मानन्धर जस्ता फुटबलप्रति समर्पित र सदैव सिक्न चाहने स्वभावका प्राविधिकलाई प्रशिक्षण टोलीमा राखे । उनीहरुको मेहनतबाट मेघराज अत्यन्तै प्रभावित थिए ।
मेघराज र उनका सहकर्मीको एउटा मुल मन्त्र छ, 'हामी खेलाडी राम्रो बनाउँदैनौँ । हामी टिम राम्रो बनाउने अभियानमा छौँ ।'
यो टोलीले देशभरबाट खेलाडी छान्यो । करिब ७ सय जना युवा खेलाडीबाट अन्तिम टोली छनोट गर्न कम्ता चुनौती थिएन । उमेर समूहमा यति ठुलो मात्रामा खेलाडी बोलाएर छनौट गरिएको सम्भवत यो पहिलो पटक थियो ।
यो टोली एकदमै 'फ्रेस' छ । टोलीमा कप्तानको जिम्मेवारीमा आयुश घलान छन् । १९ वर्षका आयुश मात्र सबैभन्दा अनुभवी हुन् । अन्य खेलाडीले त माथिल्लो स्तरमा खेलेका समेत छैनन् । केहीले मोफसलमा राम्रो प्रभाव छाडेका छन्, केही भर्खरै फुटबल समातेका पनि छन् ।
युवा टोली अहिले आफ्नो परिक्षामा छ । आम समर्थकको विश्वासमा खरो उत्रिनु छ । जुन अपेक्षा सबैले गरेका छन्, केही हदसम्म भएपनि त्यसलाई पुरा गर्नुछ । साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई ठुलो अन्तरमा पराजित गर्दै नेपाली टिमले नयाँ युगको लागि पहिलो पाइला चालेको छ । कठिन परिक्षा बाँकी नै छ, तर जुझारुपन बोकेर टोली यो यात्रा तय गर्न चाहेको देखिन्छ ।
फुटबलमा स्थायी कोही हुँदैन, कोही हुदैन । राष्ट्रिय सिनियर टोली समस्यामा छ । मानिसहरुको विश्वास सिनियर टोलीबाट डगमगाइरहेको अवस्था छ । सिनियर खेलाडीकै प्रदर्शन पनि बिस्तारै खस्कदो छ । यस्तो अवस्थामा युवा टोलीमाथि लगानी गरेर तयार गर्न सके फुटबलको भविष्य सुनौलो बनाउन सकिन्छ । कलिङ्गा रंगशालाबाट नेपाली युवा टोलीले दिएको संकेत यहि हो ।
निकै रस्साकस्सी पछि बनेको यो टोलीका पछिल्ला दुई महिना कडा मेहनतमा बितेका छन् । यो टोली धेरै अनुशासित छ । यो टोलीसँग एउटा सपना छ, त्यो भनेको उमेर समुहमा साफमा आफ्नो प्रतिष्ठा फर्काउने । यो टोलीले धेरै सिक्न चाहेको छ । किनकी सबलाई थाहा छ, नेपाली फुटबलको भविष्य चुनौती नै चुनौतीले भरिएको छ । त्यसैले ती सबै परिस्थितिको सामना गर्न यो टोलीलाई सक्षम बनाउने अभिभारा प्रशिक्षक मेघराजले बोकेका छन् ।
एन्फामा नेतृत्व परिवर्तन भएको छ । सिनियर टोलीको अवस्था उथलपुथल छ । घरेलु फुटबलको संरचना जिर्ण अवस्थामा छ । खेलाडी पलायन भइरहेका छन् । महिला फुटबल तालिका अनुसार चल्दाचल्दै पनि अस्तव्यस्त छ । यस्ता अनेकौं गतिविधि र परिवर्तन नेपाली फुटबलले देखिरहेको छ । उमेर समूहको यो पुस्ताले देखिरहेको छ । तर उसलाई तयार हुनुछ, नयाँ युगको लागि । त्यो युग चुनौतीनै चुनौतीले भरिएको छ ।