काठमाडौं । न्यु जेनिथ ‘बी’ ले प्रथम एन्जल्स एसइइ कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
मनमैजुस्थित आयोजक एन्जल्स हार्ट मावि÷कलेजको कोर्टमा भएको फाइनलमा न्यु जेनिथ ‘बी’ ले ऋत एकेडेमीलाई १८–१५ ले पराजित गर्यो । विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार पाए ।
आइबारै भएको सेमिफाइनलमा न्यु जेनिथ ‘बी’ ले नवज्योतिलाई ९–६ ऋतले ग्रिनल्यान्ड ‘बी’ लाई १५–९ ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए ।
न्यु जेनिथ ‘बी’ का अमृत भट्टराई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई समाजसेवी बाबुराम पौडेल, एन्जल्स हार्ट एजुकेसन फाउन्डेसनका प्रा.लि. का अध्यक्ष लीलबहादुर पुन, प्रा.डा. लोकेन्द्रबहादुर शेरचन, एन्जल्स हार्टका निर्देशक यमबहादुर छन्त्याल, एन्जल्स हार्ट माविका प्रिन्सिपल धनबहादुर पुनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
दुईदिने प्रतियोगितामा ६६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । एन्जल्स हार्टमा प्लस टुमा अध्ययन गर्न चाहे विजेतालाई १०० प्रतिशत, उपविजेतालाई ७५ प्रतिशत र सहभागी टोलीलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने आयोजकले जनाएको छ ।