सागर अधिकारी
काठमाडौं । एमएमए फाईट विश्वमा चर्चाको खेल भएपनि नेपालमा कम चर्चा हुने खेलमा पर्छ ।
विशेषतः नेपाली खेल क्षेत्रमा लगानी न्यून रहेको छ । एमएमए फाईटमा त लगानी नै शुन्य छ भन्दा फरक पर्दैन । तर, यहिँ शुन्य लगानीको खेलमा सुनौलो भविष्य बनाउन लाग्नेको भिड ठूलो नै रहेको छ ।
अभाव र विकटताको पर्याय बनेको सुन्दर सुदुरपश्चिमको विकट जिल्लामा बझाङ पर्दछ । एमएमएका खेलाडी रविन्द्र धात त्यहि बझाङमा जन्मिए ।
बाध्यताको कारण अध्ययनलाई थाती राखेर जीविकोपार्जनका लागि रविन्द्र पनि भारततर्फ लागे । अन्यको जस्तै उनको विदेश यात्रामा परिवारको बाध्यता जोडिएको थियो ।
बाध्यताले भारत गएका उनै रविन्द्र अहिले नेपालको झण्डा बोकेर रिङमा उत्रने एमएमए फाईटर बने ।
रोजगारीका लागि भारत पुगेका रविन्द्रको दैनिकी कामतर्फ नभई खेलतर्फ सोझियो । परिवारको आर्थिक स्थिति सुधार्न विदेशीएका उनको पाईला अन्तै मोडिदा परिवारको साथ र सहयोग पाएनन् । तर, उनले खेलप्रतिको लगाबलाई छाडेनन् ।
'म खेलमा लागेकोमा खुसी नरहेका दाई र काकाले मलाई एक्लै छोडेर हिड्नु भयो । जस्तो परिस्थिति आए पनि मैले यो कुरा नेपालमा रहनु भएका परिवारलाई भने सुनाईन,' उनले संघर्षको दिन सम्झिए ।
एमएमए फाईटमा रविन्द्रको क्षमता उनका प्रशिक्षकले राम्ररी बुझेका थिए । त्यसैले खेल्न हौसला दिन्थे । तर, बिरानो मुलुकमा एक्लै यस खेलमा लाग्दा उनलाई कहिले काँही खेल छौडौ भन्ने पनि लाग्यो । तर, खेलबाट पाएका केही थान मेडल र सम्मान पत्रले उनको विचार परिवर्तन भईहाथ्यो ।
'खेलमा सम्भावना नरहेपनि खेल मैदानमा देशको झण्डा फहराउन पाउँदा भविष्य नै भुलिदो रहेछ,' उनले भने, 'यस खेलको लागि नेपालमा राज्यको लगानी शुन्य रहेको छ । जे जति भएका छन् त्यसमा व्यक्तिगत लगानी नै हो ।'
नेपालमा यस खेलको सुनौलो दिन आउनेमा रविन्द्र विश्वस्त छन् । त्यसैले त रविन्द्र यस खेलको विकासमा आफुले दिन सक्ने योगदान गरिरहेका छन् । आफ्नो नियमित प्रशिक्षणको अलावा उनी नयाँ खेलाडी उत्पादनका लागि प्रशिक्षकको भुमिका समेत निर्वाह गरिरहेका छन् ।
रविन्द्रले एमएमए फाईट बाहेक अन्य सोचेका छैनन् । 'यस खेलबाट नै हिजो मलाई संकटको समयमा साथ छोडेकाहरुलाई समेत देखाउनु छ । यो खेल वास्तविक रुपमा कस्तो रहेको छ । यो बताउन पनि म यो खेलमा नै लागि रहने छु,' रविन्द्रले भने ।
राज्यको नजर यस खेलमा परोस भने रविन्द्रको चाहना छ । अन्य उनको अपेक्षा केहि छैन् । तर, यस खेलमा भविष्य नदेखेर विदेशनु पर्ने हो कि भन्ने समस्याले भने उनलाई पटक पटक पिरोलिरहन्छ ।