काठमाडौं । भारतमा आयोजना हुने ४४ औं चेस ओलम्पियाड छनोटमा अनिसा न्यौपाने र मिलन लामाले एकल अग्रता कायम गरेका छन् । अनिसाले चार चरणसम्म शतप्रतिशत जित हात पारेकी छन् । तेस्रो चरणमा अनिसाले बिनिता कपालीलाई हराएकी उनले चौथो चरणमा लक्ष्मी कणेललाई पराजित गरिन् ।
खुला तर्फ मिलनले ३.५ अंकसहित अग्रता कायम गरेका छन् । मिलनले चौथो चरणमा मनीस हमाललाई हराए । ३ अंक सहित सुरबीर लामाले मिलनलाई पछ्याइरहेका छन् । क्षितिज भण्डारी र रुपेस जयसवालको २.५ अंक छ । चौथो चरणको खेलमा सुरबीरले निकेन कुसाथालाई हराए । चौथो चरणमा नै रुपेस र क्षितिज विच बराबरी भएको हो ।
महिला तर्फ कृत्तीसरा अधिकारी र बिनिता कपालीले ३ अंक सहित अनिसालाई पछ्याइ रहेका छन् । चौथो चरणमा विनिताले पूर्णीमा गुरुङ तथा कृत्तसराले पूजा भण्डारीलाई हराए । यसैगरी शान्ती धिमालको २.५ अंक छ ।
काठमाडौँको होटेल केसु होममा जारी छनोटमा पुरुष तर्फ १० तथा महिला तर्फ १२ खेलाडी सहभागी छन् । पुरुष तर्फ वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शीर्ष वरियताका विवेक थीङ स्वतः छनोट भएका छन् । थप तीन जना खेलाडी जारी छनोट प्रतियोगिताबाट छानिने छन् । यसै गरी महिला तर्फ वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष बरीयताकी सुजना लोहनी छनोट भइसकेकी छिन् । थप चार जना खेलाडी यसै प्रतियोगिताबाट छनोट हुने छन् ।