काठमाडौं । ओलम्पिक दिवस (जुन २३) का अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गत स्पोर्ट्स फर अल कमिसनले बिहीबार लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरी मनाएको छ।
सो अवसरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय झण्डा तथा एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले ओलम्पिकको झण्डा झण्डोतोलन गरेका थिए ।
ओलम्पियनहरुले टर्च बोकी मार्च पास्ट गरेका थिए भने ओलम्पिक डे– २०२१ को स्मारिका पनि विमोचन गरिएको थियो।
जुडो, बक्सिङ, फेन्सिङ र करातेका खेलाडीले ‘डेमोस्ट्रेसन’ प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीहरुको पनि प्रस्तुती थियो ।
कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक डेका अवसरमा कमिसनले गरेको विभिन्न कार्यक्रम बारे जानकारी गराएका थिए । उनले सातै प्रदेश, आर्मी, प्रहरी, सशस्त्र प्रहरी, विद्यालयलगायत विभिन्न संस्थाले विभिन्न समयमा २ हजार ८ सय १७ कार्यक्रम आयोजना गरेको जानकारी गराए ।
उनले सम्पूर्ण कार्यक्रममा २ लाख ९ हजार ३ सय ५० जनाको संलग्नता रहेको अवगत गराए ।