काठमाडौं । पौडीकी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहालले एनओसी अवार्ड प्राप्त गरेका छन् ।
नेपाल ओलम्पिक कमिटीले (एनओसी) ले बिहीबार गौरिका र प्रिन्सलाई एनओसी अवार्ड प्रदान गरेको हो ।
अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजित एक कार्यक्रममा गौरिकाले एनओसी उत्कृष्ट महिला खेलाडी अवार्ड पाएका हुन् ।
यस्तै प्रिन्सले उत्कृष्ट पुरुष खेलाडी अवार्ड पाएका हुन् ।
त्यस्तै उत्कृष्ट प्रशिक्षक अवार्ड पुरुषतर्फ दिपक मगर र महिलातर्फ संगीना बैद्यले प्राप्त गरेका छन् ।
उत्कृष्ट संघको अवार्ड नेपाल तेक्वान्दो संघले प्राप्त गरेको छ ।
अवार्डसँगै उनीहरुले ५० हजार रुपैया प्राप्त गरेका छन् ।
यस्तै राखेपका पूर्व सदस्य सचिव स्वर्गिय शरदचन्द्र शाह, ओलम्पिक कमिटिका पूर्व अध्यक्ष स्वर्गिय रुक्म शम्शेर राणा, पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम थापा, ओलम्पिक कमिटिका मानार्थ अध्यक्ष ध्रुव बहादुर प्रधान, स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठ, सिनियर खेल पत्रकार श्याम चित्रकार, एनओसीका सल्लाहकार लोक भक्त राना, नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता तथा ओलम्पियन जित बहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) कीर्तिमानी खेलाडी बैकुण्ठ मानन्धर, पहिलो महिला ब्लयाक बेल्टधारी सुधा सेन मल्ल र महिला राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी एनओसी प्रेसिडेन्टन रिकगनाइजेसन अवार्डबाट सम्मानित भएका छन् ।
अवार्ड विजेतालाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका निर्देशक चतुरानन्द राजवैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले अवार्ड प्रदान गरे ।