काठमाडौं । निरज तामाङ सुर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन शीर्ष स्थानमा उक्लिएका छन् ।
करियरकै उत्कृष्ट आठ-अन्डर ६४ को सानदार अंकसहित कुल १२ अन्डर १ सय ३२ अंक सहित निरज शीर्ष स्थानमा उक्लिएका हुन् । १३ औं दक्षिण एसियाली खेलकुदका टिम इभेन्ट स्वर्ण विजेता निरजले पहिलो दिनका एमेच्योर लिडर वाङ्गचेन ढोन्डुप र शुक्र बहादुर राईलाई दुई स्ट्रोकले पछि पारे।
समग्रमा १० अन्डर १ सय ३४ को स्कोर बनाएका शुक्र र वाङ्गचेन संयुक्त रूपमा दोस्रो स्थानमा छन् । नम्बर एक प्रो बन्ने दाउमा रहेका शुक्रले सात अन्डर ६५ स्कोर गरे । पहिलो दिनका लिडर वाङ्गचेनले तीन अन्डर ६९ को स्कोर कार्ड तयार पारे।
युवा एमेच्योर गल्फर सद्भाव आचार्य करियरकै उत्कृष्ट ६ अन्डर ६६ सहित समग्रमा नौ-अन्डर १ सय ३५ को नतिजामा चौथो स्थानमा उक्लिएका छन् । नेपाल नम्बर एक भुवन नगरकोटी दोस्रो दिन पनि चार अन्डर ६८ सहितसमग्रमा आठ अन्डर १ सय ३६ को स्कोरमा पाँचौ स्थानमा रहेका छन् ।
पुर्ण प्रसाद शर्मा समग्रमा ६ अन्डर १ सय ३८ सहित छैठौं स्थानमा छन् । उनले पाँच अन्डर ६७ स्कोर गरे । चार अन्डर ६८ स्कोर निकालेका भुवन कुमार रोक्का समग्रमा ५ अन्डर १ सय ३९ सहित सातौ स्थानमा छन् । धन बहादुर थापा र एमेच्योर आरबडी शाह ४ अन्डर १ सय ४० स्कोरमा संयुक्त रुपमा आठौ स्थान बाँडे । समग्रमा तीन अन्डर १ सय ४१ को नतिजामा रामे मगर र एमेच्योर महेन्द्र फगामी संयुक्त रुपमा दशौ स्थानमा रहदै ३६ होलको खेल सकाएका छन् ।
प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
विजेताले २ लाख ५० हजार प्राप्त गर्दा उपविजेताले १ लाख ५५ हजार पाउने छन् । यस्तै तेस्रोले १ लाख १० हजार, चौंथोले ९५ हजार र पाँचौंले ८७ हजार नगद पुरस्कार पाउने छन् ।
शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।