काठमाडौं । एमेच्योर गल्फर सुवास तामाङले सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा बिहीबार प्रोफेसनल गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटीलाई ७ स्ट्रोक्सले पछि पार्दै सुवासले उपाधि जितेका हुन् ।
सुवास गल्फको मुख्य तीन उपाधि जित्ने पहिलो एमेच्योर खेलाडी समेत बनेका छन् । १३ औं सागका दुई स्वर्ण विजेता उनले यस अघि २०१९ मा सुर्य नेपाल च्यालेन्ज र अप्रिलमा सुर्य नेपाल वेस्टरन ओपन जितेका थिए ।
अन्तिम दिन ४ अन्डर ६८ अंक जोडेका सुवासले कुल १९ अन्डर २ सय ६९ अंक जोडे । शुक्र र भुवनले कुल १२ अन्डर २ सय ७८ अंक जोडे ।
व्यावसायिक खेलाडीतर्फ संयुक्त पहिलो बनेका शुक्र र भुवनले समान १ लाख ११ हजार ५ सय प्राप्त गरे । एमेच्योर खेलाडी भएकाले सुवासले नगद पुरस्कार नपाएका हुन् ।
रबि खड्का ६ अन्डर २ सय ८२ अंकसहित समग्रमा चौंथो तथा व्यावसायिकतर्फ तेस्रो बने । उनले ६५ हजार प्राप्त गरे।
निरज तामाङले कुल ६ अन्डर २ सय ८४ अंकसहित चौंथो बन्दै ५३ हजार ५ सय नगद पाए । धन बहादुर थापाले ३ अन्डर २ सय ८५ अंकसहित पाँचौं बन्दै नगद ४५ हजार प्राप्त गरे ।
नेपाल गल्फर एसोसियनले आयोजना गरेको प्रतियोगितामा ३१ प्रोफेसनल र १३ एमेच्योर गल्फरको सहभागिता रहेको थियो ।
विजेता खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दिप्र लाहिरी, गल्फ संघका अध्यक्ष टासी घले, उपाध्यक्ष पवित्र कुमार कार्की लगायतले पुरस्कृत गरे ।