काठमाडौं । सुवास तामाङ अग्रतासहित सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको फाइनल चरणमा पुगेका छन् ।
गोकर्ण गल्फ क्लबमा तेस्रो दिन बुधबार सुवासले भुवन नगरकोटीलाई दुई स्ट्रोक्सले पछि पारेका हुन् । बुधबार ३ अन्डर ६९ अंक जोडेका सुवासले कुल १५ अन्डर २ सय १ अंक जोडेका छन् ।
भुवनले १ अन्डर ७१ अंक जोड्दै कुल १३ अन्डर २ सय ३ अंक जोडेका छन् ।
शुक्र बहादुर राईले आज १ अन्डर ७१ अंक जोड्दै कुल ८ अन्डर २ सय ८ अंकसहित तेस्रो स्थान उक्लिएका छन् ।
कुल ६ अन्डर २ सय १० अंक जोड्दै रबी खड्का चौंथो र ४ अन्डर २ सय १२ अंक जोड्दै एमेच्योर खेलाडी सद्भाव आचार्य पाँचौंमा रहेका छन् ।
नेपाल गल्फर एसोसियनले आयोजना गरेको प्रतियोगितामा ३२ प्रोफेसनल र १४ एमेच्योर गल्फरको सहभागिता रहेको छ।
विजेताले १ लाख ३५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन् ।
यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने छन् ।