काठमाडौं । वर्ष ०७८ ओलम्पिकको वर्ष पनि रह्यो । हुने अथवा नहुने अनिश्चिताबीच टोकियो ओलम्पिक जापानमा आयोजना भयो । कोरोना भाइरस संक्रमणको महामारीका कारण एक वर्ष पछाडि सरेको टोकियो ओलम्पिक धेरै अर्थमा पहिले जस्तो रहेन्, किनभने यसमा धेरै बाधा अड्चन तेर्साएका थिए, यस्तो गर्नु हुन्छ र हुन्न भनेर । यो सबै कोरोना भाइरस संक्रमणको महामारी रोक्नकै लागि लागि थियो । नेपाली सहभागिताको दृष्टिकोणबाट भने टोकियो ओलम्पिक ठ्याक्कै यसअघिको संस्करण जस्तै रह्यो ।
नेपालका लागि नयाँ केही पनि रहेन् । खालि सहभागिताममै सीमिम रह्यो, यो ओलम्पिक पनि । खालि केही कीर्तिमान भने बने । जस्तो, कल्पना परियारले महिला १० मिटर एयरराइफल्समा राष्ट्रिय कीर्तिमान बनाइन् । उनले छनोट चरणमा ६ सय १६.८ अंकको प्रदर्शन गरेकी थिइन् र यसक्रममा आफ्नै पुरानो कीर्तिमान भंग गर्न पनि सफल । भइन् । यस अगाडि उनले १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४.५ अंकको प्रदर्शन गरेकी थिइन्, तर पनि उनी ५० खेलाडीमध्ये ४६ औं स्थानमा मात्र रहिन् ।
एलेक्जान्डर शाह पुरुष सय मिटर फ्रि स्टायलको हिट वानमा पहिलो पनि भए र नयाँ राष्ट्रिय कीर्तिमान पनि बन्यो । सात खेलाडीमध्ये उनले पहिलो हुने क्रममा ५३.४१ सेकेन्डको प्रदर्शन गरे । यस अगाडि उनकै नाममा ५५.३८ सेकेन्डको कीर्तिमान थियो । तर उनी अर्को चरण प्रवेश गर्न भने असफल रहे । गौरिका सिंहले पनि महिला फ्रि स्टायलमा नयाँ कीर्तिमान बनाइन् । हिट वानमा उनको प्रदर्शन १ मिनेट ००.११ सेकेन्डको रह्यो, तर उनी पनि पहिलो चरणबाटै बाहिरिन् ।
अन्य दुई प्रतिस्पर्धीमध्ये जुडोकी सोनिया भट्ट पहिलो चरणमै पराजित भइन् । उनी महिला ४८ केजी मुनिको समूहको राउन्ड अफ ३२ मा रुसकी इरिना डोल्गोभाविरुद्ध पराजित भएकी थिइन् र खेल एक मिनेट १६ सेकेन्ड चलेको थियो । एथलेटिक्सकी सरस्वति चौधरी महिला सय मिटर दौडको हिट दुई बाट बाहिरिन्, १२.९१ सेकेन्डको प्रदर्शनपछि । के यी सबै प्रदर्शन गर्व गर्न लायक थियो त ? थिएन् । प्रश्न त्यही हो, कहिलेसम्म ओलम्पिकमा सहभागिता खालि सहमागितामै मात्र सीमित हुने हो ?