नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

काठमाडौं। पेसर बलर नटराजन साह काठमाडौं गोर्खाजका ‘आइकोनिक खेलाडी’ बनेका छन्।
बुधबार मुलपानीस्थित वान डे क्रिकेट एकेडेमीमा सम्पन्न ‘ट्यालेन्ट हन्ट’ मार्फत नटराजनलाई गोर्खाजले आइकोनिक खेलाडीको रूपमा छनोट गरेको हो।
झन्डै एक हजार खेलाडीले सहभागिता जनाएको उक्त ट्यालेन्ट हन्टबाट काठमाडौं गोर्खाजका प्रशिक्षक वसन्त शाही ठकुरीको नेतृत्वमा रहेको टोलीले दोस्रो चरणमा ६० खेलाडी छनोट गरेको थियो। तीमध्येबाट नटराजन उत्कृष्ट प्रदर्शन गर्दै आइकोनिक खेलाडी बनेका हुन्।
गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने नटराजनले आइकोनिक खेलाडीका रूपमा १ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन्। उनी विगतमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका थिए। नटराजनलाई प्रशिक्षक शाही, गोर्खाजका ब्रान्ड एम्बासडर एवं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठ र वागमती प्रदेश क्रिकेट संघका प्राविधिक प्रमुख अरुण सत्यालले संयुक्त रूपमा जर्सी प्रदान गर्दै सम्मान गरेका थिए।
दोस्रो चरणमा छनोट भएका ६० खेलाडीमध्ये गोर्खाजले नटराजनसहित १७ खेलाडीलाई अन्तिम टोलीमा समावेश गरेको छ। आइकोनिक बाहेक ५ खेलाडीलाई डेभलपमेन्ट टोलीमा राखिएको छ। जसमा अथर्व पौडेल, शार्दुल भट्ट, विपिन न्यौपाने, सोनु देवकोटा र रिङजिन लामा छन्।
यी खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने र एनपीएल अवधिभर गोर्खाजसँगै प्रशिक्षण गर्ने प्रशिक्षक शाहीले जनाए।













