काठमाडौं । शारीरिक सुगठनका देवराज पराजुली र मरीचमान लामाले भारतमा आयोजना हुने आईएफबीबी मिस्टर/ मिस युनिभर्स च्याम्पियनसिप एण्ड फिटनेस फेस्टिभलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
भारतको पुनेमा आयोजना हुने युनिभर्स च्याम्पियनसिप अप्रिल १५ देखि १७ सम्म हुनेछ । युनिभर्स च्याम्पियनसिपमा सहभागिता जनाउने देवराज विश्व वरीयताको ५९ औं स्थानमा रहेका छन् ।
च्याम्पियनसिपमा सहभागिता जनाउन भारत जाने नेपाली टोलीलाई बुधबार बिदाइ गरिएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले नेपाली टोलीलाई बिदाइ गरे ।
भारत जाने नेपाली टोलीमा नेपाल शारीरिक सुगठन तथा फिटनेसका अध्यक्ष शिवलाल श्रेष्ठ, महासचिव अजय कुमार बज्राचार्य, मुख्य प्रशिक्षक राजेन्द्र रत्न तुलाधर र अफिसियलमा रेनुका श्रेष्ठ रहेका छन् ।