काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय सदस्य दावा लामाले निर्वाचन समितिको कार्यालयको सामाग्री तोडफोड गरेका छन् ।
एन्फाको आसन्न निर्वाचनका लागि बी र सी डिभिजन क्लबको प्रतिनिधि छनोट प्रक्रिया स्थगित हुने भएपछि उनले निर्वाचन समितिको सामाग्री तोडफोड गरेका हुन् ।
प्रतिनिधि छनोट प्रक्रिया स्थगित गर्ने निर्वाचन समितिको तयारीमा असन्तुष्टि जनाउँदै कार्यालयमा रहेको कम्प्युटर, प्रिन्टर लगायतका समाग्री तोडफोड गरेका हुन् ।
सी डिभिजनको प्लानिङ्ग व्वाइज युनाईटेडको तर्फबाट दावा प्रतिनिधि बनेर आएका थिए ।
एन्फा विधान र निर्वाचन निर्देशिकामा एन्फाको वर्तमान कार्यसमितिका पदाधिकारी आफ्नो संघको प्रतिनिधिका रुपमा नियुक्त हुन नपाउने व्यवस्था छ । विधान र निर्वाचन निर्देशिकामा स्पष्ट व्यवस्था भएपनि क्लबबाट सिफारिस भएर दावा सहित कोषाध्यक्ष रविन्द्र जोशी र केन्द्रिय सदस्य रुपेश अधिकारी बी र सी डिभिजन क्लबको प्रतिनिधि छनोटमा सहभागी बनेका थिए ।
उनीहरुले सहभागीतालाई लिएर निर्वाचनको पुनरावेदन समितिमा उजुरी परेको थियो । विधान विपरित पदाधिकारी प्रतिनिधि बनेर आएपछि परेको उजुरीमाथि सुनुवाई गर्न बिहिबारको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।