काठमाडौं । आउदो २ देखि ४ जेठसम्म उप–मेयर कप तथा सहिद स्मृति छैठौँ राष्ट्रव्यापी हाप्किडो प्रतियोगिता हुने भएको छ ।
वेलकोटगढी नगरपालिकाको सहयोगमा नेपाल मार्सल आर्ट्स हाप्किडो संघ नुवाकोटले आयोजना गर्न लागेको सो प्रतियोगितामा ७ वटै प्रदेश र ३ विभागीय टिम गरी १० टोलीको खेलाडीहरुको सहभागिता रहनेछ ।
वेलकोटगढी नगरपालिकामा नै हुने प्रतियोगितामा फाइट तर्फ महिला र पुरुष दुवैमा १२–१२ वटा तौल समूहमा प्रतिष्पर्धा हुने आयोजक सस्था नेपाल मार्सल आर्ट्स हाप्किडो संघ नुवाकोटका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङको अनुसार सेल्फ डिफेन्स, डेमोष्ट्रेन, हाई फल, रङ फलमा पनि प्रतिष्पर्धा हुने छ । प्रतियोगितामा पहिलो हुनेलाई २५ हजार रुपैयाँ, दोश्रो हुनेलाई १५ हजार रुपैयाँ, तेश्रो हुनेलाई १० हजार रुपैयाँ र सान्त्वना स्थान पाउने टोलीलाई ५ हजार रुपयाँ प्रदान गरिने छ ।
उप–मेयर कप तथा सहिद स्मृति छैठौँ राष्ट्रव्यापी हाप्किडो प्रतियोगितामा वेलकोटगढी नगरपालिकाको ५ लाख रुपैयाँ लगानी रहने वुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । प्रतियोगितामा करिव २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।