काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि बी र सी डिभिजनका क्लबको प्रतिनिधि छनोट स्थगित भएको छ ।
एन्फा विधान र निर्देशिका विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि बी र सी डिभिजन क्लबको बिहीबार हुने तय भएको निर्वाचन प्रक्रिया स्थगित भएको हो ।
एन्फाको निर्वाचन निर्देशिकामा कार्यकारी समिति, महासचिव, प्रमुख कार्यकारी अधिकृत, कोषाध्यक्ष, सहायक महासचिव, सहायक सिईयो, सह कोषाध्यक्ष, मानार्थ अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरुले साधारण सभामा भाग लिने पाउने तर उनीहरुलाई मतदानको अधिकार नहुने उल्लेख छ । यस्तै, आफ्नो कार्यकालमा कार्यकारी समितिमा सदस्यहरुले आफ्नो संघको प्रतिनिधिका रुपमा नियुक्त हुन नपाउने र कुनै सदस्य संस्थाबाट मताधिकार प्रतिनिधि भएको खण्डमा पूर्व पदबाट राजिनामा गर्नुपर्ने उल्लेख छ ।
कार्यसमिति सदस्यद्धय दावा लामा र रुपेश अधिकारी क्रमश प्लानिङ ब्वाईज र साग्रिला स्पोर्टस एकेडेमी तथा कोषाध्यक्ष रविन्द्र जोशी पुल्चोक स्पोर्टस क्लबबाट प्रतिनिधिको रुपमा आएपछि निर्वाचन प्रक्रिया प्रभावित बनेको हो ।
एन्फा विधान र निर्वाचन निर्देशिका विपरित प्रतिनिधि बनेर आएका प्रतिनिधिको प्रतिनिधित्व खारेज गर्नुपर्ने माग सहित निर्वाचनको पुनरावेदन समिति निवेदन परेपछि प्रतिनिधि छनोट प्रक्रिया स्थगित गरेको हो ।
निर्वाचन समितिले एन्फा सचिवालयसँग विशेष साधारण सभाको निर्णयको प्रतिलिपी माग गर्ने निर्णय गर्दै एन्फा पदाधिकारी र सचिवालयसँग छलफल गरेर प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ ।
'विशेष साधारण सभामा कसरी प्रतिनिधि समावेश गरिएको रहेछ भनेर विशेष साधारण सभाको निर्णयको प्रतिलिपी हेर्छौ र पदाधिकारीसँग शुक्रबार छलफल गरेर एन्फा विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढाउँछौं ।' निर्वाचन समितिका एक सदस्यले खेलपाटीसँग भने ।
एन्फाले दुई दिन अघिमात्र निर्वाचन समितिलाई बी र सी डिभिजनको प्रतिनिधि छनोटको जिम्मेवारी दिएको थियो । निर्वाचन समितिले एन्फा सचिवालयबाट प्राप्त नाम समावेश गर्दै प्रतिनिधिको नामावली सार्वजनीक गरेको थियो ।
बिहीबार सी र बी डिभिजन फुटबल क्लबको मताधिकार सम्बन्धमा निर्वाचन कार्यतालिका अनुसार अघि बढ्दा विवाद देखिएको हो । वर्तमान कार्यसमितिमै रहेका पदाधिकारी विधान र निर्वाचन निर्देशिका विपरित क्लबको प्रतिनिधि बनेर निर्वाचनमा सहभागी बनेपपिछ विवाद उत्पन्न भएको हो । विधान विपरित पदाधिकारीनै प्रतिनिधि बनेर आएपछि एन्फा निर्वाचनको पुनरावेदन समितिमा उजुरी परेको छ ।
निर्वाचन सम्बन्धि उजुरी परेपछि निर्वाचन समितिले क्लबका प्रतिनिधि र पदाधिकारीसँग छलफल गर्न खोजेको थियो ।
निर्वाचन कार्यतालिका अनुसार बिहान ११ बजे आएका प्रतिनिधि साँझसम्म निर्वाचन प्रक्रियामा समावेश हुन नपाएपछि आक्रोशित बनेका थिए । क्लबका केही प्रतिनिधिले निर्वाचन प्रक्रियाप्रति आक्रोश ब्यक्त गर्दै एन्फाको कम्प्युटर, टेबल, कुर्सी र प्रिन्टर तोडफोड गरेका छन् ।