काठमाडौं । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा आगामी वैशाखमा हुन लागेको राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि ‘ग्रिन हिल’ ले खेलकुद सामग्री सहयोग गरेको छ ।
पाकिस्तानमा रहेको ‘ग्रिन हिल’ ले प्रतियोगिताका लागि चार लाखभन्दा बढीको सामग्री सहयोग गरेको गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले जानकारी दिए ।
पाकिस्तानी कम्पनी ‘ग्रिन हिल’ ले गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितालाई अन्तर्राष्ट्रिय बक्सिङ महासंघको सर्टिफाइड खेलकुद सामग्री सहयोग गरेको हो । ‘ग्रिन हिल’ ले हेड गार्ड, ग्लोभ्सलगायतका सामग्री सहयोग गरेको हो ।
गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत अहिले प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन भइरहेको छ । २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।