काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत अष्ट्रेलियाले लगातार सातौं खेलमा जित हात पारेको छ ।
न्यूजिल्यान्डको वेलिङटनमा भएको खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै लगातार सात खेल जितेको हो ।
अष्ट्रेलियाले जितका लागि चाहिएको १ सय ३६ रनको लक्ष्य ३२ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
अष्ट्रेलियाको जितमा बेथ मुनीले अविजित रहदै सर्वाधिक ६६ रनको योगदान गरिन् ।
बंगलादेशका लागि सलमा खातुनले सर्वाधिक ३ विकेट लिईन् ।
यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले ४३ ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाएर १ सय ३५ रन जोड्यो ।
बंगलादेशका लागि लता मोन्डलले सर्वाधिक ३३ रन जोडिन् ।
अष्ट्रेलियाका लागि असलेइघ गार्डनर र जेस जोनासेनले समान दुई–दुई विकेट लिए ।
अष्ट्रेलियाले सात खेल जित्दै १४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेर सेमिफाइनलको यात्रा तय गरेको छ ।
यता बंगलादेशले भने ६ मध्ये ५ खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।