काठमाडौं । सोमपाल कामीले राष्ट्रिय टोलीमा कमब्याक गरेका थिए । रोहित पौडेल पछिल्लो वर्षमा एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । आरिफ शेख नियमित राष्ट्रिय टोलीबाट खेल्दै आएका थिए ।
आईसीसी क्रिकेट विश्वकप लिग टुको तेस्रो सिरिज खेल्न यूएई जाँदा तीनै खेलाडी टोलीमा थिए । सिरिजबाट नेपाललाई लिगको अंक तालिकामा फड्को मार्ने राम्रो अवसर थियो ।
चार खेलको सिरिज अघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्यो । पहिलो श्रेणीको क्रिकेट क्लबसँग तीन अभ्यास खेलमा आफ्नो पक्षमा नतिजा हात पारेपनि नेपालले उच्च प्रदर्शन गर्न चुक्यो । मुख्यत ब्याटिङमा नेपाल पछि परेको थियो ।
त्यसको डर यूएईमा पनि थियो । त्यो डर यूएईमा देखियो । नेपाल ब्याटिङमा डगमगायो । श्रीलंकामा जस्तै केहि नतिजा आफ्नो पक्षमा पारेपनि खेलबाट कोहि सन्तुष्ट भएनन् । न खेलाडी आफ्नो प्रदर्शनबाट सन्तुष्ट थिए, न प्रशिक्षकलाई खेलमा चित्त बुझेको थियो । न त समर्थकलाई नेपालको ब्याटिङ मन परेको थियो । कसैलाई नेपालको प्रदर्शनबाट सन्तुष्ट थिएन ।
लिग टुको तेस्रो सिरिजमा नेपालले दुई खेल घरेलु टोली यूएई र दुई खेल पपुवा न्युगिनी (पीएनजी) सँग खेलेको थियो । पीएनजीलाई नेपालले दुवै खेलमा पराजित गर्यो तर यूएईसँग नेपालले दुवै खेलमा सम्झनलायक प्रदर्शन गर्न सकेन । सामान्य लक्ष्य पछ्याउँदा समेत नेपाल यूएईसँग पराजित भयो । बलिङमा नेपालले उच्च प्रदर्शन गर्दै आफ्नो विराशत कायम राख्न सफल भयो । तर नेपाल ब्याटिङमा नेपाल इतिहासकै खराब प्रदर्शन गर्दै खराब कीर्तिमान बनायो ।

सिरिजमा नेपालले चारवटै खेलमा दोस्रो ब्याटिङ गर्दै लक्ष्य पछ्याएको थियो । पीएनजीविरुद्ध संघर्षपूर्ण २ विकेटको जित निकाल्दै सिरिज सुरुआत गर्यो । जितका मुख्य खेलाडी थिए रोहित पौडेल र आरिफ शेख । रोहित र आरिफले शतकीय साझेदारी गर्दै नेपालको जितको आधार तयार गरेका थिए । नेपाल १५ ओभरमा ४२ रनमा ४ विकेट गुमाएको स्थितिमा यी दुई खेलाडीले पाँचौं विकेटका लागि १ सय २ रनको साझेदारी गरेका थिए । रोहित ६० रनको अर्धशतकीय इनिङ खेल्दै ज्ञानेन्द्र मल्लसँग नेपालको लागि एकदिवसीयमा सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान साझा गरेका थिए । आरिफ भने आफ्नो पहिलो अर्धशतकबाट १ रनले चुके । अन्त्यमा करन केसीले खेलको २९ रनको अविजित इनिङ खेल्दै अन्तिम ओभरमा विजयी छक्का प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए । अन्य खेलाडीले नेपालको जितमा ठुलो योगदान दिन सकेनन् ।

दोस्रो खेलमा लयमा रहेको घरेलु टोली यूएईको ब्याटिङ इनिङलाई फास्ट बलरद्वय सोमपाल कामी र करन केसीको शानदार बलिङले धरासायी पार्यो । सोमपालले ९ ओभरमा ३९ रन खर्चेर महत्वपूर्ण ४ विकेट निकाल्दा करनले ७ ओभर ३ बल बलिङ गर्दै ३६ रन खर्चेर ३ विकेट हात पारेपछि यूएई १ सय ६८ रनमा अलआउट भयो र सहज जित निकाल्ने अवसरमा नेपालले १ सय २० रनमा अलआउट हुँदै खेर फाल्यो । नेपाल पराजित हुँदा एक महिना अगाडी ओमानमा भएको टी ट्वान्टी विश्वकप छनोटको बदला लिने सुनौलो मौकामा खेर फाल्यो । खेलमा नेपालको ब्याटिङ निकै दयनीय देखिएको थियो । खेलमा रोहित पौडेलले ४६ रन बनाउनु बाहेक अन्य खेलाडीले गैरजिम्मेवारीपूर्ण ब्याटिङका कारण पराजित हुन पुग्यो ।

तेस्रो खेलमा नेपालले अझ खस्कँदो प्रदर्शनलाई निरन्तरता दियो । सोमपाल र करनले आफ्नो बलिङ लय निरन्तरता राख्दै २/२ विकेट लिंदा कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएपछी युएई २ सय २ रनको मध्य योगफलमा रोकियो । यूएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा मात्र १ सय ३ रनमै समेटियो । नेपाल एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अलआउट भएको यो सबैभन्दा कम स्कोर हो । लजास्पद हारमा नेपालका ब्याटर निरिह जस्तै रहे । ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाउनु बाहेक अन्य खेलाडीले खास रन बनाउन सकेनन् ।
अन्तिम खेलमा भने नेपालले कमब्याक गर्यो । पीएनजीविरुद्ध नेपालले ७ विकेटको जित निकाल्दा नेपालका कुशल भुर्तेलले ५० रनको अर्धशतकीय इनिङ खेले । लयमा राखेका रोहित पौडेलले ४४ रन बनाउँदा अविजित रहे भने आरिफ शेखले आफ्नो पहिलो एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक पूरा गरे । नेपालको सहज जितमा उनले १ सय २ बलमा ५९ रन बनाएका थिए ।

सिरिजमा नेपालको लागि सर्वाधिक रन रोहित पौडेलले बनाए । उनले ४ खेलमा २ सय १२ बल खेल्दै १ सय ५९ रन बनाए । यस्तै सिरिजमा आरिफले समेत ४ खेल खेल्दै २ सय २८ बलमा १ सय २३ रन बनाउन सफल रहे । अन्तिम खेलमा अर्धशतक बनाएका कुशलले ४ खेलमा ९३ बलको सामना गर्दै ६६ रन मात्र योगदान दिन सके । पहिलो ३ खेलमा उनले मात्र १७ रन बनाउन सकेका थिए । अनुभवी ज्ञानेन्द्र मल्लले ३ खेलमा १ सय ३३ बल खेल्दै मात्र ६२ रन जोड्दा अन्तिम खेलमा बेञ्चमा बस्नु पर्यो । यी बाहेक अन्य खेलाडीले सिरिजमा सम्झनलायक प्रदर्शन दिन सकेनन् । अन्य खेलाडीले जम्मा ५० रनको आंकडा समेत पुरा गर्न सकेनन् ।
बलिङमा सोमपाल कामीले मुख्य भूमिका खेल्दै सर्वाधिक ११ विकेट लिए । ४ खेलमा ३९ ओभर बलिङ गर्दै उनले नेपालको लागि सर्वाधिक विकेट लिए सोमपालले ३ खेलमा ब्याटिङ गर्दै २९ रनको योगदान समेत गरेका थिए । नेपालक सर्वाधिक सफल दोस्रो बलरमा कप्तान सन्दीप लामिछाने रहे । उनले ४ खेलमा ४० ओभर बलिङ गर्दै १ सय २१ रन खर्चेर ७ विकेट चट्काए । करन केसीले ४ खेल खेल्दै २९ ओभर ३ बलमा ६ विकेट निकाल्न सफल रहे । आरिफले बलिङमा समेत योगदान गरे । उनले २५ ओभर बलिङ गर्दै ३ विकेट समेत हात पारे ।

सिरिजमा अन्य खेलाडीले राम्रो छाप छोड्न सकेनन् । सिरिजमा नेपालका दुई खेलाडीले डेब्यु गरे । बाँया हाते स्पिनर सागर ढकालले पीएनजीविरुद्ध डेब्यु गरे । यद्दपी उनले ४ ओभर मात्र बलिङ गर्दा विना विकेट २१ रन खर्चिए । उनले दोस्रो खेलमा यूएईविरुद्ध समेत ४ ओभर बलिङ गर्दा १३ रन खर्चेर पहिलो एक दिवसीय विकेट हात पारे । अर्का डेब्यु गर्ने खेलाडी भिम शार्की रहे । उनले पीएनजीविरुद्धको अन्तिम खेलमा एकदिवसीय डेब्यु गर्दा ब्याटिङ गर्न पाएनन् । खेल खेल्न नपाउने खेलाडीमा विवेक यादव एक्लो रहे ।