धनगढी । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
कैलालीको धनगढीमा सोमबार भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो ।
आर्मीले कर्णालीलाई २५–१८,२५–१० र २५–१६ को सेटमा हराएको हो ।
यस्तै सोमबार नै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई २५–१७, २५–२२ र २५–२२ को सोझो सेटले पराजित गरेको छ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरे ।
प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहेको छ ।
विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ।