पोखरा । दोस्रो संस्करणको मादी मनकामना कप भलिबल प्रतियोगिता आज बिहीबारबाट सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन एकता युवा क्लब मादी र आयोजक मादी मनकामना यूवा क्लबको 'बी' टोलीले जित हासिल गरेका छन् ।
उद्घाटन खेलमा एकताले क्षेत्री युवा क्लब मादीलाई २२-२५, २५-२२ र २५-१५ ले पराजित गर्यो ।
अर्को खेलमा आयोजक ‘ बी’ ले अयोजक ‘ए’ लाई २२-२५, २५-२२ र २५-२३ ले हराएको प्रतियोगिता संयोजक विरेन्द्र थापामगरले जानकारी दिए ।
प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक बिकास तथा शिक्षा मन्त्री मेखलाल श्रेष्ठले गाउँ गाउँमा आयोजना गरिने यस्ता भलिबल प्रतियोगिताले भविष्यमा राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।
क्लबका अध्यक्ष विवेक रानामगरले भलिबल खेलको महत्वको बारेमा भनाई राख्दै आगामी दिनमा पनि यस्ता आयोजना गर्दै जाने बताए ।
चैत ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार ५ सय ५५ प्राप्त गर्दा उपविजेताले ३० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् ।