काठमाडौं । महिला भलिबल टिमकी कप्तान अरुणा शाही र कलाकार धिरेन शाक्य सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको सद्भावना दुत नियुक्त भएका छन् ।
सञ्जय स्मृति प्रतिष्ठानले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै अरुणा र धिरेन सद्भावना दुत नियुक्त गरिएको जनाएको छ ।
फाउन्डेसनको कार्यसमिति बैठकले प्रतियोगितालाई सफल बनाउन शाही र शाक्यलाई प्रतियोगिताको सद्भावना दुत नियुक्त गरिएको जनाएको छ ।
राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा ख्याती कमाउन सफल शाही र शाक्यको नियुक्तिले प्रतियोगितालाई सफल बनाउन थप सहयोग पुग्ने विश्वास लिइएको फाउन्डेसनले जनाएको छ ।
प्रतियोगिता चैत २४ देखी २६ गतेसम्म आयोजना हुनेछ ।
नेपाल भलिबल संघसँगको सहकार्यमा आयोजना हुन लागेको प्रतियोगिता पाल्पाको तानसेनस्थित रानीमहलमा आयोजना हुनेछ ।
प्रतियोगितामा ३ विभागीय टोली आर्मी, पुलिस, एपीएफ र सात प्रदेशको टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले १ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ५० हजार पाउने छन् ।
यस्तै प्रतियोगिताको सफल आयोजना र सञ्चालनका लागि पूर्व गभर्नर चिरन्जिवी नेपालको संरक्षकत्वमा २३ सदस्यीय मुल आयोजक समिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ ।