काठमाडौं । प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितालाई अन्तराष्ट्रिय खेलकुद पोशाक ब्रान्ड युक्यानले प्रायोजन गरेको छ ।
यसै महिना आयोजना हुने प्रतियोगितालाई किट्स पार्टनरको रुपमा युक्यानले प्रायोजन गरेको हो ।
युक्यानको नेपालस्थित आधिकारिक बिक्रेता सिटिएल र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको मार्केटिङ, ब्रान्डिङ तथा व्यवस्थापनको काम क्रियटिभ गन्जले गरिरहेको छ ।
सिटिएलका प्रबन्ध निर्देशक राजन महर्जन र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर सौगातविक्रम शाहबीच सम्झौता भएको छ ।
सिटिएलले प्रतियोगिताका लागि आवश्यक पोशाक उपलब्ध गराउनेछ । घरेलु टिम लुम्बिनी युनाइटेडका लागि पोशाक उपलब्ध गराउनुका साथै आयोजक समिति, रेफ्री अफिसियल र स्वयंसेवकका लागि आवश्यक टिसर्ट प्रदान गर्नेछ ।
प्रधानमन्त्री कप महिला भलिबलसँग जोडिन पाउँदा सिटिएलका प्रबन्ध निर्देशक राजन महर्जनले खुशी व्यक्त गरे ।
क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर सौगात विक्रम शाहले युक्यान जस्तो अन्तर्राष्ट्रिय ब्राण्डलाई नेपालगन्जमा भित्राउन पाउनु उपलब्धिमुलक रहेको बताए ।
प्रतियोगिताको आठौं संस्करण चैत १० देखि १४ गते सम्म हुनेछ । नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रतियोगिता नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुनेछ । विगतका वर्षहरुमा भन्दा यसपटक कोराना महामारीका कारण केहि समय ढिला हुन गएको हो ।
प्रतियोगितामा देशका चर्चित क्लबहरुसँग मित्र राष्ट्र भारतका क्लबलाई पनि सहभागी गराउने प्रयास भइरहेको आयोजकले जनाएको छ ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम कोलकाता इण्डिया, पाँचौमा एपीएफ, छैठौमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेको थियो ।