काठमाडौं । हुन्डाई ओपन गल्फ प्रतियोगिता यसै साता आयोजना हुने भएको छ ।
हुन्डाई गाडीको नेपालमा अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शनिबार आयोजना गरिने जनाएको छ ।
गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता १८ होलमा स्टेबल फोल्ड फर्म्याट र ३/४ ह्याण्डीक्यापको आधारमा खेलाइने छ ।
प्रतियोगितामा १ सय ३० गल्फरहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । १ सय ३० खेलाडी सहभागी भएमा शुक्रबार र शनिबार खेलहरु आयोजना हुने गोकर्ण गल्फका सिनियर निर्देशक दीपक आचार्यले जानकारी गराए ।
प्रतियोगितामा १० नम्बर होलमा 'होल इन वन' गर्ने खेलाडी हुन्डाई कार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्नेले आकर्षक पुरस्कार पाउने छन् ।
त्यस्तै बेस्ट ग्रोस, महिला विजेता, लङगेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन, मोस्ट बर्डिज,सिनियर बिजेता (६० वर्ष माथि) ,जुनियर बिजेता (१७ वर्ष मुनी) र हुन्डाई ओनर्स बिजेताले पनि पुरस्कार पाउने छन् ।
पत्रकार सम्मेलनमा बोल्दै हुन्डाईका मार्केटिङ म्यानेजर सन्दीप शर्माले प्रतियोगितालाई निरन्तरता दिने जानकारी गराए ।